नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले तस्कर नियन्त्रणका लागि आवश्यक परे गोली ठोक्न निर्देशन दिएकोछ ।
बाँके जिल्लाको नेपाल–भारत सीमावर्ती ग्रामीण क्षेत्रहरूको बाटो प्रयोग गरी तस्करी कार्य बढेपछि त्यसलाई नियन्त्रण गर्न आवश्यक परे गोली प्रहार गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मातहत निकायलाई निर्देशन दिएको हो ।
विशेष सूचनाको आधारमा बाँके जिल्लाको नेपाल–भारत सीमावर्ती ग्रामीण ईलाकामा केही राष्ट्रसेवकको समेत मिलिमतोमा जवरजस्त अवाञ्छित क्रियाकलाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले त्यस्ता व्यक्तिहरुलाई आवश्यक परेमा गोली समेत प्रहार गरेर भएपनि नियन्त्रणमा लिन मातहत निकायलाई निर्देशन दिएको छ ।
जिल्ला प्रहरीको निर्देशन अटेरी गरी लुम्बिनी प्रदेशका डिआईजीको नाम बेचेर बाँके जिल्लाको सीमावर्ती क्षेत्रका केही प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय मातहत पर्ने क्षेत्रहरू जैसपुर, पचपोखरा, जमुनहा, हिरमिनिया तथा कोहलपुरका पुराना तथा नयाँ तस्करहरुले राष्ट्रसेवक कर्मचारीलाई प्रलोभनमा पारी सीमा क्षेत्रमा तस्करी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले यस्तो कडा निर्देशन जारी गरेको हो ।
सरकारी विशेष सूचनाको आधार तथा स्थानीय बासिन्दाहरूको समेत जन गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय बाँके र केही सुरक्षा निकायका सदस्यहरूको सहभागिता भएको अनौपचारिक बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, अवाञ्छित क्रियाकलाप तथा तस्करी नियन्त्रण विषयमा भएको छलफलमा यस्तो निर्देशन दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम बहादुर रानाका अनुसार समाजमा भएका अवाञ्छित क्रियाकलाप तथा सीमा क्षेत्रमा तस्करी कार्य नियन्त्रण गर्न प्रशासनबाट थप निर्देशन प्राप्त भएको जानकारी दिए ।