नेपालगन्ज : बाँके जिल्लाको समग्र सुरक्षा अवस्थाका विषयमा प्रदेश सरकारले चासो देखाएकोछ । बाँकेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्लाका सबै सुरक्षा प्रमुखलाई राखेर सुरक्षा गुष्ठि शुरु गरिएको छ । यसअघि प्रदेशस्तरीय गोष्ठी गर्ने गरिएको भएपनि कोरोना भाइरस संक्रमणका कारण लुम्बिनी प्रदेश सरकारले जिल्लागत सुरक्षा गोष्ठी शुरु गरेको हो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा शुक्रबार बाँकेको नेपालगन्जमा सुरक्षा गोष्ठी शुरु भएको छ । योसंगै प्रदेश सरकारले लुम्बिनी प्रदेशका सबै जिल्लामा पुगि त्यहाँको समग्र सुरक्षा स्थितीका बारेमा गहन अध्ययन गर्नेछ ।
मन्त्री केसीका अनुसार प्रदेशको सुरक्षा स्थिति बुझ्नका लागि प्रदेशस्तरीय सुरक्षा गोष्ठि आयोजना गरिएकोे छ । शुक्रबार बाँकेमा जिल्लास्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
जिल्लास्थित सुरक्षा निकायका सबै अङ्गहरुको उपस्थितिमा नेपालगन्जमा भएको सुरक्षा गोष्ठीमा सुरक्षा चुनौती, कोभिड–१९ को अवस्था लगायतको विषयमा छलफल भएको थियो ।
गोष्ठीको उद्घाटनमा बोल्दै मन्त्री केसीले यसअघि प्रदेशस्तरीय गोष्ठीमा जिल्लाका प्रमुख व्यक्तिहरुको मात्र सहभागिता हुँदा युनिट प्रमुखहरुको समस्या बुझ्न र सम्बोधन गर्न नसकिएकाले यसपटकको सुरक्षा गोष्ठिबाट उनीहरुबीचको सम्बन्ध, समन्वयका साथै समस्या सुनेर समस्याको हल खोजिने योजना रहेको बताए ।
उनले जिल्लामा कोभिडको पछिल्लो अवस्थाका साथसाथै सुरक्षाको अवस्था, सबै सुरक्षा युनिटहरुको अवस्था, भौतिक संरचनाको अवस्था, विकास, अपराध, सीमाको अवस्था तथा अन्य समस्याहरुको निकास निकाल्न जिल्लामै युनिट प्रमुखहरु समेतलाई राखेर सुरक्षा गोष्ठी आयोजना गरिएको बताए ।
सोक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमा अपराधदेखि जिल्लाको समग्र सुरक्षास्थितिका बारेमा ब्रिफिङ हुने बताए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबिलाल पन्त, उपसचिव केदार कोईराला, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेना भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी, बाँकेका सबै सुरक्षा अंगहरुको युनिट प्रमुखहरुको उपस्थिति रहेको छ ।
यसअघि आन्तिरिक मामिला मन्त्री केसीले बाँकेको नरैनापुर गाउँपालिका अन्तरगतको सुईया नाका पुगेर त्यहाँको अवस्थाको अवलोकन गर्नुको साथै नरैनापुर गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागि भएका थिए ।
उनले त्यहाँको सुरक्षा अवस्था, कोभिड–१९ ले पारेको प्रभाव र नरैनापुरको बिकासको बारेमा चासो लिनुको साथै नरैनापुरको विकासमा प्रदेश सरकारले प्रथामिकता लिएको उल्लेख गरे ।