बाँके प्रहरीको फरार अभियुक्त पक्राउ अभियान

चार महिनामै ४४४ पक्राउ, कारागारमा ठाउँ अभाव


चार महिनामै ४४४ पक्राउ, कारागारमा ठाउँ अभाव

File Photo

नेपालगन्ज : बाँके प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४ सय ४४ जना फरार अभियुक्त पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अुनसार अदालतबाट साजाय तोकिए ब्यक्तिहरु पक्राउ गर्ने अभियान अन्र्तगत उनीहरुलाई पक्राउ गरिएको हो ।

अदालतबाट सजाय तोकिएका व्यक्तिहरु गाउँघरमा डुलिरहेको पाइएपछि बाँके प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्ने अभियान नै चलाएको थियो । बाँकेमा प्रहरीको सक्रियता बढ्दै गएपछि अदालतबाट सजाय तोकेका फरार अभियुक्त धमाधम पक्राउ हुदै आएकाछन् ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले भने–‘हामीले चलाएको यो अभियानबाट त्रसित बनेका कतिपय फरार अभियुक्त आफै प्रहरीको सम्पर्कमा आएकाछन् ।’ उनले सेतोखरीसंग कुरा गर्दै भने–‘यो बाँके प्रहरीको अग्रसरता र क्रियाशिलताबाट प्राप्त सफलता हो ।’

फरार अभियुक्त पक्राउ गर्न केही वर्षअघि अदालतका कर्मचारी र प्रहरीको संयुक्त टोली बनेको थियो । केही समय निष्क्रियजस्तो देखिए पनि प्रहरीले पछिल्लो समयमा फेरि सक्रियता देखाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

लुम्बिनी प्रदेशमै अदालतले सजाय तोकेका फरार अभियुक्त पक्राउ गर्नेमा बाँके प्रहरी अगाडि देखिएको छ । बाँके प्रहरीले धमाधम फरार अभियुक्तलाई नियन्त्रणमा लिन थालेपछि यतिबेला उनीहरुलाई कहाँ राख्ने भन्दै समस्या उत्पन्न भएको प्रहरी उपरीक्षक रानाले बताए ।

‘नियमित झै अदालतले सजाय तोकेका अभियुक्त पक्राउ गरिरहेका छौं । यो संख्या अझ बढेर जान्छ । तर, उनीहरुलाई राख्न कारागारमा पर्याप्त ठाउँ छैन’ प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा शुक्रबार भएको सुरक्षा गोष्ठिको उद्घाटन शत्रमा बाँके प्रहरीले यी तथ्यांक सार्वजनिक समेत गरिसकेकोछ । पहिलो चौमासिकमा लुम्बिनी प्रदेशमा ६ सय फरार अभियुक्त पक्राउ गरिँदा बाँकेमा मात्रै ४ सय ४४ जना रहेका छन् ।

यतिबेला पक्राउ परेका फरार अभियुक्तलाई नेपालगन्ज कारागारमा राखिदै आएकोछ । यद्यपी त्यहाँ रहेका महिला बन्दीलाई बर्दिया सरुवा गरी पक्राउ परेका फरार अभियुक्तलाई राखिएको प्रहरी उपरीक्षक रानाले बताए ।

तीन सय क्षमताको नेपालगन्ज कारागारमा हाल नौ सयको हाराहारीमा बन्दी पुगेको बताउँदै प्रहरी उपरीक्षक रानाले ठाउँ अभावले कारागारमा रहेका कैदी बन्दी व्यवस्थापन गर्न समस्या हुने जिकिर गरे ।