नेपालगन्ज : संसद विघटनपछि देशमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सेना हाई अलर्टमा रहेकोछ । यतिबेला देशका विभिन्न ठाँउमा संसद् विघटनको विरोध गर्दै प्रदर्शन भइरहेकोछ ।
सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सैनिक मुख्यालयमा आपतकालिन उच्च सैनिक अधिकृतहरूको बैठक बसेको थियो । उक्त बैठकले संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्दै सैनिक उच्च अधिकारीहरूले पृतनापतिहरूलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएका छन् ।
संसद विघटनअघि नै बैठक सुरू भएको थियो । सेनाको यो नियमित बैठक थियो । नियमित बैठक चलिरहँदै त्यहाँ संसद विघटन सिफारिसको खबर पुगेको थियो ।
संसद विघटनपछि देशमा हुलदंगा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे हाई अलर्टमा बस्न निर्देशन दिइएको बुझिएकोछ ।
सुरक्षाको सबैभन्दा अगाडिको पङ्ति प्रहरीको नेतृत्वमा हुन्छ । आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय प्रशासन ऐन प्रयोग गरी सुरक्षा स्थिति बिग्रिएमा सैनिकलाई खटाउन सक्छन् ।
सेनाका अधिकारीहरूले जिल्ला प्रशासनको मेरुदण्डको रुपमा काम गर्नुपर्ने भएकाले अलर्ट रहन निर्देशन दिइएको बुझिएको छ ।