काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन् ।
उनले घटनाको छानबिन गर्न, भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन् ।
उनले भनेका छन् –‘कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ बर्षिय नेपाली नागरिक नरेन्द्र सुनारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु ।’
सोमबार साझँ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र सुनार घाइते भएका थिए । भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली प्रहार गरिएको बुझिएको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको जनाइएको छ ।
सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएका थिए । घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको छ । घुँडामुनि गोली लागेको सुनारको अवस्था खतरामुक्त छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजार गडीगोठबाट फर्किंदै गर्दा जंगल क्षेत्रमा आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।
यसबीच भारतीय एसएसबीले नेपालीमाथि गोली प्रहार गर्दा समेत नेपालसरले ध्यानाकर्षण नगरेको भन्दै यतिबेला सरकारको आलोचना भइरहेकोछ ।