लमजुङमा विभिन्न मुद्दाका २४ प्रतिवादी फरार


लमजुङमा विभिन्न मुद्दाका २४ प्रतिवादी फरार

काठमाडौं : लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन् । आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चालू आर्थिक वर्षको पुस २३ सम्म बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अदालत लमजुङले विभिन्न मुद्दामा कैद तथा जरिवाना सुनुवाइ गरेका २४ जना फरार रहेको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले जानकारी दिए ।

फरार प्रतिवादीहरु लागुऔषध, चोरी, जबरजस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका छन् । अदालतका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस २३ सम्म चार पुरुष प्रतिवादी फरार रहेका छन् । जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ ।

अदालतका अनुसार गत आर्थिक वर्षको एक वर्षको अवधिमा नौजना विभिन्न मुद्दाका प्रतिवादी पुरुष फरार रहेका थिए । उनीहरु लागुऔषध, जनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैध रुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार काफ्लेले जानकारी दिए ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुद्दाका ११ जना प्रतिवादी फरार रहेका थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, चोरी, अवैधरुपमा काठ ओसारपसार, जबर्जस्ती करणीलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

फरार प्रतिवादी प्रहरीले पक्राउ गर्न सक्रिय देखाउँदै आए पनि सबै प्रतिवादी पक्राउ गर्न भने नसकेको अदालतका श्रेस्तेदार काफ्लेको भनाइ छ । उनले भने, ‘ढिलो चाँडो सबै फरार रहेको विभिन्न मुद्दाका प्रतिवादी प्रहरीले पक्राउ गर्ने छन् । केही फरार प्रतिवादी प्रहरीले पक्राउसमेत गरेको छ ।’

यस आर्थिक वर्ष २०७७/७८ मा ३८ जना फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा अधिकतम नौ वर्ष छ महिना २१ दिन कैद भुक्तानी गर्नुपर्नेदेखि २० रुपैयाँ जरिवाना तिर्नुपर्नेसमेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा १४ जना फरार प्रतिवादी पक्राउ परेका थिए । उनीहरु ४० हजारदेखि १८ दिन कैद भुक्तानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पुनले प्रहरी फरार प्रतिवादी पक्राउ गर्नका लागिपरिरहेको बताए । स्थानीय तह, जनप्रतिनिधि, स्थानीयको समन्वयमा र प्रविधि प्रयोग गर्दै प्रतिवादी पक्राउ गर्न सफल भइरहेकाले आगामी दिनमा पनि पक्राउ गर्न सक्ने उनको भनाइ छ । जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला गरिसकेपछि विभिन्न देशमा रोजगारका लागि गइसकेकाले प्रतिवादी पक्राउ गर्न समय लागिरहेको प्रहरीको भनाइ छ ।

उनीहरु विदेशबाट स्वदेश फर्किएपछि पनि कानूनको दायरामा भने ल्याइरहेको प्रहरी निरीक्षण पुनले बताए । -रासस