प्रधानमन्त्रीमाथि सुरक्षा ‘थ्रेट’ बढ्यो

नेपाली सेनासहित २९५ जनाले सुरक्षा दिदैं


प्रधानमन्त्रीमाथि सुरक्षा ‘थ्रेट’ बढ्यो

File Photo

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलमिाथि सुरक्षा चुनौति बढेपछि गृह मन्त्रालयले उच्च सतर्कता अपनाउदै सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या बढाएकोछ ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको सुरक्षा निकायले विश्लेषण गरेको छ ।

सुरक्षा निकायको विश्लेषणका आधारमा गृह मन्त्रालयले प्रधानमन्त्रीको सुरक्षाप्रति संवेदनशिल हुदैँ सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या बढाएको हो । प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेपछि गृह मन्त्रालयले प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाएको छ ।

यसअघि प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए । तर, हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५ जना, नेपाल प्रहरीबाट ८२ जना, सशस्त्र प्रहरीबाट २८ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन् । सेनाबाट सेनानी तथा प्रहरी र सशस्त्रबाट डीएसपीको कमाण्डमा टोली खटिने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनसक्ने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अबरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले उनी जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न थालिएकोछ ।

प्रधानमन्त्री ओली जाने कार्यक्रममा हुनसक्ने सम्भावित विरोधलाई लक्षित गरेर कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने हरेक चिजलाई निषेध गर्ने नीति प्रहरीले लिएको छ । विभिन्न कार्यक्रममा कालो मास्क लगाउने व्यक्ति पनि निकालिएका छन् । सरकार विरोधी नारा लगाउने व्यक्तिलाई समेत प्रहरी निगरानीमा राख्न थालेको छ ।

ओलीको कदमलाई गैरसंवैधानिक भन्दै पार्टीभित्रै र बाहिरबाट आलोचना भइरहेका बेला आगामी दिन ढुंगामुढासमेत गरिन सक्ने विश्लेषण सुरक्षा निकायको छ । चुनाव पनि आउन लागेकाले सुरक्षा बढाउनुपर्ने आवश्यकता देखिरहँदा यही बेला विप्लव समूहले पनि आफ्नो उपस्थिति देखाउन कुनै गतिविधि गर्न सक्ने भएकाले सुरक्षा निकायलाई सतर्क राखिएको छ ।

राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्री ओलीको गतिविधि धेरै हुने भएकाले खासगरी ओलीलाई लक्षित गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको हो ।