सीमानाकामा सशस्त्रको निगरानीमा कडाई, तस्करहरु निस्कृय बन्दै


सीमानाकामा सशस्त्रको निगरानीमा कडाई, तस्करहरु निस्कृय बन्दै

नेपालगन्ज ४ माघ : नेपाल–भारत सीमामा तस्करको गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरीले आफ्नो निगरानी बढाएकोछ । निगरानी बढाएसंगै सीमानाका भएर हुने तस्करीमा सशस्त्र प्रहरीलाई सफलता समेत मिल्दै गएकोछ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले तस्करी नियन्त्रण गर्न दिएको कडा निर्देशनसँगै सशस्त्र प्रहरीले अबैध कार्यमा निगरानी बढाएको हो ।

अबैध सामाग्री ओसारपसार तथा तस्करमाथि निगरानी बढाएको सशस्त्र प्रहरीले बाँकेका कटकुइयाँँ, नरैनापुर, गंगापुर, खडैंचा, कालाबन्जर, जमुनाहा, जयसपुर र बढैैया लगायतका बिओपीहरुको कडा निगरानीले तस्करहरुको निद्रा हराम भइरहेको छ ।

तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरुको सक्रियतामा समेत कमि आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी बम बताउँछन् ।
उनले भने –‘सशस्त्रले कडाईका साथ नेपाल–भारत सीमा नाकामा आफ्नो निगरानी बढाएकोछ । सो नाका भएर अबैध सामान ओसारपसारको कार्यमा समेत कमि आएकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

सशस्त्रले उक्त नाकाबाट भन्सार छलेर ल्याइने सामाग्री समेत जफत गरिरहेकोछ । ती बिओपीहरुले सानो भन्दा सानो सामग्री ओसारपसारमा समेत कडाई गरिरहेकोछ ।
सीमानाकामा तैनाथ सशस्त्र प्रहरीको आँँखा छल्दै अबैध सामाग्री ओसारपसार भइरहेको भएपनि त्यस्ता कार्य समेत रोक्न यतिबेला सशस्त्र प्रहरी सक्रिय बन्दै गएकोछ ।

यहीबीच सशस्त्र प्रहरीले आईतबार बिहान नेपाल–भारत सीमानाकाबाट भन्सार छलि अवैध सामग्री भित्र्याउदै गरेको ठूलो मात्राको लत्तकपडा नियन्त्रणमा लिएकोछ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक हर्क थापाको कमाण्डमा गएको टोलीले आईतबार विहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१५ पिप्रहवाबाट उक्त सामान बरामद गरेको हो ।

भारतबाट तस्करले लुकाईछिपाई अबैध लत्ताकपडा ल्याउंँदै गरेको खबर पाएको सशस्त्र प्रहरीले चेकजाँच गर्नेक्रममा उक्त सामान बरामद गरेको हो । टाढैबाट तस्करले सशस्त्र प्रहरीलाई देखेपछि अबैध लत्ताकपडा छाडेर भागेका थिए ।

बरामद गरिएका अबैध लत्ताकपडामा कोट पाइन्टको ५० पिस काँँचो र ९५ पिस लेडिज सुट रहेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएका उक्त लत्ताकपडाको अन्दाजी मूल्य १ लाख २६ हजार रुपैयाँ रहेको छ ।

सशस्त्र प्रहरीले बरामद गरेका ती अबैध लत्ताकपडालाई आईतबार बिहानै आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएकोछ । सशस्त्र प्रहरीले भन्सार छलि अबैध सामाग्री बरामद तथा तस्करलाई नियन्त्रणमा लिन थालेपछि यतिबेला नेपालगन्जका ब्यवसायीहरु हर्षित बनेकाछन् ।