प्रधानमन्त्रीकै आँखा अगाडी राष्ट्रिय झण्डाको अपमान

पटकपटक प्रधानमन्त्रीले राष्ट्रिय झण्डाको अपमान गरे


प्रधानमन्त्रीकै आँखा अगाडी राष्ट्रिय झण्डाको अपमान

पुलको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओली सहभागि कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान गर्दै उल्टो झण्डा (रातो गोलो घेरामा) फहराइएकोछ ।

नेपालगन्ज १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीकै आँखा अगाडी राष्ट्रिय झण्डाको अपमान गरिएकोछ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्न आयोजित कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान गरिएको हो ।

राष्ट्रिय झण्डाको चन्द्र माथी र सुर्य तल हुनुपर्ने हो तर, पुल उद्घाटनमा माथी सुर्य  र तल चन्द्र भएको झण्डा फहराइएको थियो ।

प्रधानमन्त्री सहित उच्चपदस्थ ब्यक्तिहरु सहभागि उक्त कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान मात्र भएको छैन । आफ्नै झण्डाप्रतिको गम्भीरता तथा सम्मानप्रति संवेदनशिल नभएको पुष्टि हुन्छ ।

देशकै दोस्रो लामो पुलको औपचारिक उद्घाटनका लागि पुलको दायाँबायाँ नेपालको झण्डा फहराइएको थियो । उक्त कार्यक्रमको सरकारी टेलिभिजन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यता नेपाल टेलिभिजनको एमसिआर सम्हालेका ब्यक्तिले समेत राष्ट्रिय झण्डा भन्दा पनि प्रधानमन्त्रीले रिवन काटेको कुरा मुख्य मानेर प्रत्यक्ष प्रसारणमा राष्ट्रिय झण्डाको अपमान भएको दृष्य देखाइरह्यो । यस्तोमा टेलिभिजनले प्रत्यक्ष प्रसारण बिचैमा रोक्नसक्नुपर्दथ्यो । सरकारी टेलिभिजनको समेत सुजबुझ र कमजोरीले नेपाली झण्डाको अपमानमा मलजल गरिरह्यो ।

पुलको दायाँबायाँ राखिएको राष्ट्रिय झण्डामध्ये बायाँतर्फको राखिएको झण्डा उल्टो राखिएको थियो । यो प्राविधिक त्रुटी भने होइन । राष्ट्रिय झण्डामाथि धावा बोल्दै जानाजान गरिएको अपराध हो ।

राष्ट्रिय झण्डा सुल्टो र उल्टो समेत ख्याल नहुनेगरि प्रधानमन्त्री ओली सहित उच्चपदस्थ ब्यक्ति सहभागि कार्यक्रममा राष्ट्रिय झण्डा उल्टो फहराउने ब्यक्तिलाई कारबाही गरिनुपर्छ ।

अझ कार्यक्रमको सुरक्षा तथा व्यवस्थापनको जिम्मेवारी लिएकाहरुले समेत राष्ट्रिय झण्डाप्रति बेवास्ता गर्नु गम्भीर त्रुटी हो । प्रधानमन्त्रीकै आँखा अगाडी राष्ट्रिय झण्डाको अपमान गरि उल्टो राष्ट्रि झण्डा झुण्डाइदाँ समेत हेक्का नराख्ने जिम्मेवार पदस्थ ब्यक्तिबाट अक्षम्य अपराध कसरी भयो ?

यतिबेला उक्त तस्विर सामाजिक सञ्जालमा समेत भाइरल हुदैँ खोक्रो राष्ट्रबादको संज्ञा दिइन थालेकोछ । राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कडा कारबाही गर्नुपर्ने, पार्टीको झण्डा बोक्नेले राष्ट्रको झण्डाको अपमान गरेको, ओलीको खोक्रो राष्ट्रबाद यसैबाट पुष्टि हुन्छ लगायतका टिकाटिप्पणी भइरहेकाछन् ।

राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही/कसैले पनि पाउँदैन । तर, जिम्मेवार निकाय सरकारले यसको सोधखोज र कारबाही भने गर्नसकेको छैन ।

पछिल्लो समय, अझ भनौँ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्न थालेको हो । जुनसुकै पार्टी पनि राष्ट्रिय झण्डाकै प्रयोग गरेर राजनीति गर्न थाले । संसद विघटन विरुद्ध सिर्जित राजनीतिक कलहमा समेत राष्ट्रिय झण्डा बोकेर आन्दोलन भइरहेकाछन् ।

देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा पछिल्लो समयमा आफुखुशी प्रयोग गरि दुरुपयोग गर्ने कार्यमा तीब्रता पाएकोे छ ।

राष्ट्रिय चिन्हहरूको प्रयोग कहाँ कस्ले गर्ने र गर्न पाउने भन्ने प्रष्ट उल्लेख भएपनि आफुखुशी प्रयोग गरिदाँ समेत सम्बन्धित निकाय मौन रहेको छ । ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ ।

पटकपटक प्रधानमन्त्रीले राष्ट्रिय झण्डाको अपमान गरे

त्यसो त दाङमा पुल उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीकै आँखा अगाडी राष्ट्रिय झण्डाको अपमान भएको यो पहिलो पटक होइन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा यसअघि राष्ट्रिय झण्डा उल्टो झुण्डाईएको थियो । राष्ट्रिय झण्डाको चन्द्र माथी र सुर्य तल हुनुपर्ने हो तर, मन्त्रालयले माथी सुर्य र तल चन्द्र भएको नेपाली राष्ट्रिय झण्डा झुण्डाएको थियो । यसअघि मन्त्रालयमा लगाईएको झण्डा च्यातिएर झुत्रो भएपछि फेरेको मन्त्रालयले राष्ट्रिय झण्डाको अपमान हुने गरि उल्टो राष्ट्रिय झण्डा झुण्डाएको थियो ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणमा प्रधानमन्त्री ओली र प्रदेश दुईका मुख्यमन्त्री राउतकै सामुने राष्ट्रिय झण्डाको अपमान भएको थियो ।

यसैगरि प्रधानमन्त्री ओलीको नाकाबन्दी खुले पछिको भारत भ्रमणमा समेत नेपाली झण्डाको अपमान भएको थियो ।

यस्तै नयाँ वर्षको अवसरमा रारा तालबाट प्रधानमन्त्री ओलीकै सम्बोधनको पछि नेपाली झण्डा भुईमा लत्रिएर अपमान गरिएको थियो ।

के भन्छ कार्यविधि
कार्यविधिमा व्यापारिक प्रयोजनको लागि र विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने छैन भनेर उल्लेख गरेपनि व्यवहारमा त्यो लागु हुनसकेकोछैन ।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी बनेको कार्यविधि २०६९ ले विभिन्न सातवटा शर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ । तर, दुरुपयोग गरे नगरेको कसले हेर्ने र दुरुपयोग गर्नेलाइ के कस्तो कारवाही गर्न सकिने भन्ने कुरो चाहि ठ्याक्कै तोकेको छैन ।

कार्यविधिको परिच्छेद ४ मा कुनैपनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्र भित्र राष्ट्रिय झण्डाको दुरुपयोग भए/नभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाइ तोकेको छ ।

गृहमन्त्रालयले बनाएको कार्यविधिको दफा ११ मा राष्ट्रिय भण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यमा बाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।

पछिल्ला वर्षहरुमा मानिसहरू मनलाग्दी ढंगले राष्ट्रिय झण्डाको प्रयोग गरी देशकै इज्जतमाथि खेलबाड गरिँदा समेत सरकार मौन बसेकै कारण दुरुपयोग गर्ने क्रममा तीव्रता आएको हो । अझ पटकपटक प्रधानमन्त्री ओलीकै कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान हुने गरेकोछ । यसले राष्ट्रिय झण्डामाथि हामी तथा स्वयम प्रधानमन्त्री कति गम्भीर छन भन्ने प्रष्ट हुन्छ ।

नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ बनाए पनि त्यो सरकारी पक्षबाटै कार्यान्वयन भएको छैन । सोही कारण राष्ट्रिय झण्डाको दुरुपयोगमा बृद्धि हुँदै गएको हो । जसको ज्वलन्त उदाहरण प्रधानमन्त्री केपी ओलीकै आँखा अगाडी राष्ट्रिय झण्डा उल्टो फहराइयो । प्रधानमन्त्री ओलीकै कार्यक्रममा नेपाली राष्ट्रिय झण्डाको अपमानको घटना सामुने आउनु कस्तो दुर्भाग्य हो ?