गोरु तस्करीका लागि बाँके सहज


गोरु तस्करीका लागि बाँके सहज

नेपालगन्ज १३ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले तीन वटा गोरुसहित ट्रकलाई नियन्त्रणमा लिई कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।

अबैधरुपमा लैजादै गरिएको उक्त गोरु र गोरु लोड गरिएको ट्रक ईलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको थियो । आईतबार राती बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुमबाट प्रहरीले ट्रकसहित तीनवटा गोरु नियन्त्रणमा लिएपछि बाँकेमा गोरु तस्करीको धन्दा नियन्त्रण हुन नसकेको पुष्टि भएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसार पसार कार्यहरु रोकथाम तथा नियन्त्रण गर्ने भनि चालेको अभियानकै क्रममा ट्रकमा लोड गर्ने तयारी गरिरहेका बेला प्रहरीले तीन वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभाष खड्काका अनुसार ना ५ ख १००३ नम्बरको ट्रकमा तीन वटा गोरु लोड गर्दै गर्दा नियन्त्रणमा लिइए पनि ट्रक चालक भने भाग्न सफल भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त ट्रक र गोरु लिलाम बिक्रीका लागि सोमबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ । दिनभर सेटिङ मिलाउन ब्यस्त रहने बाँकेका गोरु तस्करहरु ‘लाईन’ मिलेपछि रातारात सक्रिय हुँदै अबैधरुपमा गोरु तस्करी गर्दै आएकाछन् ।

अबैध गोरु तस्करी नियन्त्रणमा प्रहरीसंगै स्थानीय सक्रिय रहदाँ समेत प्रहरीले गोरु तस्करी रोक्न प्रभावकारी भूमिका खेल्न नसकेको बाँके बासीको गुनासो छ । गाई पालेर दूध खान, बेच्न र मासु प्रयोजनका लागि बाहेक अन्य प्रयोजनका लागि नेपालभित्रै गाईगोरु ओसारपसार गर्न कानूनले छुट दिएको छ । तर, यही कानूनको फाइदा उठाउँदै तस्करहरु गिरोहले गोरु तस्करी गर्दै आएका छन् ।

कृषि प्रयोजनको नाममा गोरु मासुको लागि तस्करी हुने गरेको पुष्टि भइसकेको छ । नेपालभित्रै ओसारपसार गर्न भन्दै गिरोहले सेटिङ्ग गरेर पशु क्वारेन्टाइन लगायत कागजात तयार गरी अवैध धन्दा गर्ने गरेका छन् ।

तस्करहरुले भारतबाट सस्तोमा खरिद गरि सीमावर्ती क्षेत्रका बासिन्दाबाट खरिद गरेको, फर्म, गौशाला तथा ब्यक्तिगतरुपमा पाल्न लैजान थालेको नक्कली कागजात बनाएर ओसार पसारमा सक्रिय बन्दै आएकाछन् । यहाँसम्मकी उनीहरुले जिल्लाका विभिन्न ब्यक्तिबाट खरिद गरेको भन्ने समेत पक्का कागजात समेत बनाउने गरेकाछन् । गाईगोरु तस्करीमा स्थानीय ब्यक्ति तथा केहीलाई रकम खुवाएर समेत बलियो आधार बनाइने गरिन्छ ।

बाँकेका विभिन्न क्षेत्रबाट गाईगोरु तस्करी हुदैं आएको छ । भारतबाट नेपाल हुँदै बंगलादेशतर्फ मासु प्रयोजनका लागि गोरुको लामो समयदेखि अबैधरुपमा निकासी हुँदै आएको छ । भारतमा गोरु ओसारपसार गर्न नपाइने कानूनी व्यवस्था भएकोले पेशेवर तस्करहरुले नेपाली भूमि प्रयोग गरी पुनः भारतको पश्चिम बङ्गाल पुर्याउने र उताबाट बङ्गलादेश, पाकिस्तान तथा भुटानसम्म निर्यात हुने गरेको छ ।