‘अप्रेशन महाहण्ट’ अन्तरगत ‘खैरीगोठ अपरेशन’बाट सात थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएका ब्यक्ति । तस्विर: सेतोखरी
नेपालगन्ज २३ माघ : वन्यजन्तु र मानिसको क्रियाकलाप निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जमा जडान गरिएको सीसि क्यामेराको मदतले ७ थान भरुवा बन्दुक सहित ९ जनालाई नियन्त्रणमा लिइएकोछ ।
बाँके राष्ट्रिय निकुञ्जले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती सातौं चरणको ‘अप्रेशन महाहण्ट’ अन्र्तगत ‘खैरीगोठ अपरेशन’बाट सात थान भरुवा बन्दुकसहित ९ जनालाई नियन्त्रणमा लिइएको हो ।
निकुञ्ज क्षेत्रभित्र बन्दुक बोकी आउनेजाने गरिएको फोटो निकुञ्जमा जडिट सीसि टिभीमा देखिएको र सूचनाका आधारमा निगरानी बढाउदाँ बाँके निकुञ्जले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ९ जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले शुक्रबार पत्रकार सम्मेलन गरि निकुञ्ज क्षेत्रभित्रको विभिन्न स्थानमा राखिएको सिसी क्यामेरामा बन्दुक बोकेर आउने जाने गरेको दृश्य देखिएपछि सल्यानको कालिमाटी क्षेत्रमा निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त गस्तीबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।
२०६७ सालदेखि निकुञ्जमा सञ्चालनमा रहेको ‘अप्रेसन महाहण्ट’ अन्तर्गत ‘खैरीगोठ अपरेसन’बाट उनीहरुलाई रंगेहात पक्राउ गर्न सफल भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए ।
भरुवा बन्दुकसहित पक्राउ पर्नेमा सल्यान कालमाटी गाउँपालिका वडा नम्बर –३ का ५२ वर्षिय भीमबहादुर खनाल, वडा नम्बर–२ का २६ वर्षिय देवप्रसाद थापा, २२ वर्षिय धनबहादुर डाँगी, ४१ वर्षिय तिलक डाँगी, ३२ वर्षिय टेकबहादुर कुँवर, ५२ वर्षिय कृष्ण थापा, ५१ वर्षिय शोकबहादुर खत्री, २९ वर्षिय कुमार थापा र ५० वर्षिय रत्नलाल मगर रहेको निकुन्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत एवंम सूचना अधिकारी महेश न्यौपानेले उनीहरुलाई सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट भरुवा बन्दुकसहित शुक्रबार विहान नियन्त्रणमा लिन सफल भएको जानकारी दिए ।
उनीहरु वन्यजन्तु चोरी शिकारीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । निकुञ्जले उनीहरुमाथि अनुसन्धान अघि बढाएको जनाएकोछ ।