भागरथी भट्ट हत्या प्रकरण

हत्यारालाई कारबाहीको माग गर्दै प्रर्दशन, प्रहरीको अनुसन्धान साँघुरिदै


हत्यारालाई कारबाहीको माग गर्दै प्रर्दशन, प्रहरीको अनुसन्धान साँघुरिदै

नेपालगन्ज २५ माघ : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३० महिनापछि बैतडीमा त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ । गत बुधबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या भएको अवस्थामा जंगलको बीचमा शव फेला परेको छ । यौनाङ्गबाट रगत बगिरहेका कारण भागरथीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएकै बेला कञ्चनपुरकी १४ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको थियो । २०७५ साउन १० गते घरनजिकै उखुबारीमा निर्मलाको शव भेटिएको थियो । परिवारलाई न्याय दिनुपर्ने भन्दै निर्मला प्रकरणले सदनदेखि सडकसम्म तात्यो । अनाहकमा एकजनाले ज्यान गुमाउनुप¥यो ।

अहिलेसम्म पनि निर्मलाका हत्यारा को हुन् भनेर पत्ता लागेको छैन । प्रहरीलाई निर्मला बलात्कारपछि हत्या प्रकरण सबैभन्दा टाउको दुखाइको विषय बनेको छ । अझै पनि भित्रभित्रै अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।

यसैबीच भागिरथी हत्याविरुद्ध बैतडी सदरमुकाममा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारामाथि कडा कारबाहीको माग गर्दै प्रहरी अनुसन्धान चाँडो टुंग्याउन माग गरेका छन् । प्रहरीले हत्यारा पक्राउ नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

भागरथी हत्या प्रकरणमा पनि हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग उठिरहेको छ । यद्यपि सरकारी पक्षले भागरथी प्रकरणबारे अहिलेसम्म मुख खोलेको छैन । घटनाको ५ दिनसम्म पनि प्रहरीले हत्याराको सुइँको नपाएपछि ‘निर्मला प्रकरण नदोहोरियोस्’ भन्दै सरकारको चर्को अलोचना हुन थालेको छ ।

सरकारले तत्काल भागरथीको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने विभिन्न राजनीतिक दलका नेताहरुको माग छ ।

प्रहरीको अनुसन्धान साघुरिदैं

भागिरथी भट्ट हत्याको अनुसन्धानको घेरा साँघुरिदै गएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेको नेतृत्वमा विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमै छ ।

आजै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि घटनास्थलतर्फ गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंहले जानकारी दिए । भागिरथीको हत्या बलात्कारपछि गरिएको आशंका छ । यद्यपी पोस्टमार्टम र मेडिकल रिपोर्ट आएपछि मात्र बलात्कार भए नभएको बताउन सकिने सिंहले बताए ।

प्रहरीले भागिरथीले प्रयोग गर्ने मोबाइल लगायतका केही प्रमाण संकलन गरेको प्रवक्ता सिंहले बताए । घटनास्थलमा मोबाइल सेट र ब्याट्री अलग अलग ठाउँमा भेटिएका थिए । त्यस्तै कतिपय दसी प्रमाणका आधारमा अनुसन्धानको घेरा साँघुरिदै आएको उनले बताए ।

केही व्यक्तिलाई अनुसन्धानका क्रममा पक्राउ गरिए पनि सोधपुछपछि कागज गरेर छाडिएको छ । आईतबारदेखि विद्यालय खुलेकाले उनका साथी, परिवारका सदस्य र नजिकका नातेदाहरुमार्फ जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भागिरथीको हत्या नजिकका वा चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने अनुमान लगाएको छ । प्रायः यस्ता घटना चिनजानकै व्यक्तिबाट हुने र बलात्कारपछि पहिचान लुकाउन हत्या गर्ने गरिएको पाइएको छ ।

हत्या नजिकका चिनजानकै मान्छेबाट भएको आँकलन गर्न सकिन्छ । प्रायः चिनजानकै मान्छे संलग्न हुने गरेका देखिन्छ विगतमा । रेप गरेर पहिचान लुकाउन मर्डर गर्ने क्रम पनि उत्तिकै छ ।

समुदायमै यस्ता घटनालाई ढाकछोप गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ, ताकि घटना नदोहोरियोस् पीडितले न्याय पाउन सकून् । यस्ता जघन्य अपराधका घटनामा राज्यका तहबाट गम्भीरता देखाउनुपर्नेमा जिम्मेवार निकाय मौन छन् ।