अख्तियारलाई अनुसन्धानकर्मी अभावः रिजाल


अख्तियारलाई अनुसन्धानकर्मी अभावः रिजाल

नेपालगन्ज २७ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा वर्षेनी उजुरी बढेपनि अनुसन्धानकर्मी अभावले सताउने गरेकोछ ।

बाँकेका स्थानीय तहका विरूद्ध अख्तियारमा दर्जनौं उजुरी परेपनि नेपालगन्जमा रहेको अख्तियारको कार्यालय र यहाँका कर्मचारी ती उजुरीको अनुसन्धानमा समेत उदासिन देखिनुपरेको हो ।

अख्तियारको नेपालगन्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा उजुरी अनुसन्धानमा असर परेको आयोगका प्रमुख भेषराज रिजाल बताउँछन् । उनका अनुसार आयोगमा अहिले दरबन्दी अनुसारका कर्मचारी नहुँदा विषयगत दक्षताका अनुसन्धानकर्मीको अभावले अनुसन्धानमा समस्या खड्किएकोछ ।

अख्तियारले पटक–पटक दक्ष जनशक्तिको अभावका कारण अनुसन्धान कार्य प्रभावकारि रुपमा गर्न नसकेको आलोचना खेपिरहेकोछ । अझ अख्तियारलाई संविधान, कानूनबमोजिम सशक्त नबनाउनु, आयुक्तहरू नियुक्त गर्दा राजनीति प्रभावित हुनु तथा अख्तियारको दायराभन्दा बाहिर संस्थाहरु रहनु लगायतका कारणले अख्तियारले सक्षमतापूर्वक काम गर्न नसकेको विज्ञहरुको बुझाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, संघीयता पछि स्थानीय तहबाट भएका कामका सम्बन्धमा अख्तियारमा उजुरीको चाङ् नै लागेको छ । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालू आर्थिक वर्षको ७ महिनामा ५ सय ८४ उजुरी परेको छ । जबकि गत आर्थिक वर्षमा ५ सय ७५ उजुरी दर्ता भएका थिए ।

आयोगको ३० औं स्थापना दिवसका अवसरमा मङ्गलबार पत्रकार भेटघाट कार्यक्रम गर्दै कार्यालयले सम्पादन गरिरहेका कामको विवरण प्रस्तुत गरेको थियो । नेपालगन्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने गर्दछ । कार्यालय प्रमुख रिजालका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ५ सय ४२ उजुरी परेकोमा ३ सय १६ टुंगिएका थिए भने २ सय २६ बाँकी रहेकोछ ।

गत आर्थिक वर्षमा परेका ५ सय ७५ उजुरी मध्ये २ सय ५५ मात्र फछ्र्योट भएका थिए । त्यसमा ३ सय २० बाँकी छन् । जसमा हालसम्मको प्रगति ३१.९७ प्रतिशत छ । उजुरी मध्ये सबैभन्दा धेरै बाँकेका २ सय ४७, दाङका १ सय ६७ र बर्दियाका १ सय २४ रहेकाछन् ।

उजुरीको प्रवृत्ति हेर्दा सबैभन्दा बढी बाँकेमै रहेकोछ । जसमा सबैभन्दा बढि बाँकेका स्थानीय तह, दोस्रोमा शिक्षा र तेस्रोमा भूमी प्रशासन सम्बन्धि मुद्दा छन् । अघिल्लो आर्थिक वर्षमा ६ वटा स्टिङ अपरेशन गरेको नेपालगन्ज सम्पर्क कार्यालयले चालू आर्थिक वर्षमा हालसम्म ३ वटा स्टिङ अपरेशन मात्र गरेको छ ।

कार्यालय प्रमुख रिजालका अनुसार त्यसमा बाँकेमा २ र दाङमा एउटा अपरेशन गरिएको थियो । उक्त अपरेशनबाट सात जना पक्राउ परेका थिए ।

आयोगको ३० औं स्थापना दिवसका अवसरमा कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रम आयोगका शाखा अधिकृत एवम सूचना अधिकारी श्रीधर टण्डन, शाखा अधिकृतद्वय मिनराज थापा, गोविन्दबहादुर शाही, स्टिङ्ग अपरेसनका प्रहरी निरीक्षक विजय कुँवर लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारको उपस्थिती रहेको थियो ।