चुनाव लक्षित सुरक्षा योजना बुन्दै लुम्बिनी प्रदेश


चुनाव लक्षित सुरक्षा योजना बुन्दै लुम्बिनी प्रदेश

नेपालगन्ज २८ माघ : आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनलाई लिएर लुम्बिनी प्रदेशका सुरक्षा संयन्त्रले आफ्नो क्रियाशिलता बढाएकोछ । लुम्बिनी प्रदेशको शान्ति सुरक्षा तथा आगामी बैशाखमा हुने निर्वाचनलाई लिएर प्रदेशका सुरक्षा संयन्त्रले चासो देखाएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको लुम्बिनी प्रदेशका प्रमुखहरुको उपस्थितीमा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया भएको हो ।

सुरक्षा गोष्ठि तथा भेलामा सम्मलित सुरक्षा संयन्त्रका प्रमुखहरुले प्रदेशको समसामायिक शान्तिसुरक्षाको अवस्था, नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्यूनिकरण लगायत अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सूचना आदान–प्रदान गर्नुका साथै समन्वयात्मक भूमिकाको बारेमा छलफल गरेकोछ ।

उक्त कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, लुम्बिनी प्रदेश कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकाल लगायत नम्बर–१९ र नम्बर– २२ बाहिनीका नि.बाहिनीपतिहरु समेतको उपस्थिती रहेको थियो ।