सिसि क्यामेराबाट निगरानी गर्दै वडाअध्यक्ष मोहम्मद सफिक बेहना ।
नेपालगन्ज १ फाल्गुन : नेपालगन्ज उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले जडान गरेका सिसि क्यामेराका कारण थुप्रै घटना, दुर्घटनामा अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ । घटना तथा दुर्घटना अनुसन्धानमा मात्रै होईन वडा कार्यालयबाट प्रदान हुने सेवामा समेत वडा कार्यालयले सिसि क्यामेराबाटै निगरानी गरिरहेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट विभिन्न स्थानमा १२ वटा सिसि क्यामेरा जडान गरेको छ । कार्यालयका अनुसार जडित ती क्यामेरा ‘उच्च’ क्वालिटीका हुन् । जसबाट ब्यक्तिको सहजै पहिचान गर्न सकिन्छ ।
वडाअध्यक्ष मोहम्मद सफिक बेहनाका अनुसार सिसि क्यामेरा जडान भएपछि सो क्षेत्रमा चोरी तथा सडक दुर्घटनामा संलग्न ब्यक्तिको सहज पहिचान हुनुका साथै वडाबाट प्रदान गरिने सेवामा समते निगरानी गर्दा धेरै सहज भएको बताउँछन् ।
उनी भन्छन्, ‘समाजमा बिकृती, चोरी, सडक दुर्घटना, गलत काम नहोस् भनेर नै वडामा सिसि क्यामेरा जडान मैले गरेको हुँ, यो अभियान नै चलाएको छु । वडाको सबै क्षेत्रलाई समेटेर यसवर्ष थप ५० वटा सिसि क्यामेरा जडान गर्ने मेरो योजना छ ।’
वडाअध्यक्ष बेहनाका अनुसार उक्त वडामा ४० हजार घरधुरी छ । सबै वडाबासीको शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गर्दा अपराध नियन्त्रणमा प्रहरीलाई समेत सघाएको उनले सुनाए ।
नेपालगन्ज उपमहानगरभित्र कुल २३ वटा वडा छन् । तर, वडा नम्बर ४ मा जडान गरिएका सिसि क्यामेरा सबै वडा भन्दा बढि छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वडा नम्बर ४ बाहेक अन्य वडाले यसरी आफ्नो क्षेत्रमा शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेका छैनन् ।
उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले वडाको शान्ति सुरक्षाको विषयलाई लिएर यति धेरै सिसि क्यामेराबाट प्रभावकारि रुपमा काम गर्ने ४ नम्बर वडा पहिलो भएको बताए ।
‘आफ्नो वडाको शान्ति सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेको यो पहिलो नै हो, मलाई जानकारी भए अनुसार अरु वडाले यस्तो राम्रो काम गरेका छैनन्,’ उनले भने । सबै वडाले सिसि क्यामेरा जडान गरेर आफ्ना वडाबासीलाई शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउन सक्नुपर्ने राणाको भनाई छ ।
उनले भने–‘नेपालगन्ज उपमहानगरपालिकाले २३ वटै वडा कार्यालयमा सिसि क्यामेरा जडान त गरियो तर, ब्यवस्थित र ठूलो संख्यामा सिसि क्यामेरा जडान गर्ने वडा नम्बर ४ नै पहिलो हो । यो वडाबाट अरु वडाले पनि पाठ सिक्न जरुरी छ ।’
अपराध अनुसन्धान गर्नमा प्रविधीले प्रहरीलाई धेरै सजिलो बनाइदिएको र त्यसमा पनि वडा कार्यालयले जडान गरेका सिसि क्यामेराबाट थप बल पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवम् प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का बताउँछन् ।
वडा नम्बर ४ कै वडा कार्यालय नजिक रहेको वडा प्रहरी कार्यालयले वडा कार्यालयको सिसि क्यामेरा अभियान सकारात्मक भएको प्रहरी निरीक्षक खड्काको बुझाई छ ।
‘सिसि क्यामेराले सानादेखी ठुला घटनाको निगरानी गर्न सकिन्छ, यस्ता क्यामेरा सबै वडातिर भइदिए धेरै राम्रो हुन्थ्यो,’ उनले भने । प्रहरीले अपराध अनुसन्धान गर्दा जहाँ अप्ठ्यारो हुन्छ, त्यहाँ सिसि क्यामेराको साहारा लिने गर्छ । अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रविधिको प्रयोग बढ्दो छ । यसको ब्यवस्थापन गर्नु आवश्यक रहेको वडा प्रहरी इन्चार्ज खड्काले सुनाए ।
यतिमात्र नभई यतिबेला वडाले गरेको कामको नागरिक स्तरबाट पनि प्रशंसा भइरहेको छ । वडा नम्बर ४ का स्थानीय एवम महिला स्वयमसेविका प्रेमा शाही भन्छिन्–‘निर्वाचित जनप्रतिनिधीले काम गरेन । गर्न सकेन भन्ने सोँचाई परिर्वतन गर्न सक्नुपर्छ । अलिकति मेहनत गरे उदाहरणीय कार्य गर्न सकिन्छ ।’
शाहीले अगाडी थपिन्–‘सिसि क्यामेरा जडान भएपछि यसअघि सो क्षेत्रमा हुने गरेका थुप्रै घटनाहरु हराउँदै गएकाछन् । वडाबाट हुने सेवाका सम्बन्धमा समेत वडाअध्यक्षले सिसि क्यामेराबाटै निगरानी गरिरहनुभएकोछ ।’
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, बुद्धनगर टोल विकास समितिको अग्रसतामा समाज हुने सामाजिक अपराध, चोरी तथा लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ ‘कम्युनिटी सेक्युरिटी साईरन’को उद्घाटन गरिदैछ ।
‘कम्युनिटी सेक्युरिटी साईन’ जडान भएपछि सो क्षेत्रमा हुने घटना, दुर्घटना, चोरी तथा सामाजिक अपराधका विषयमा तुरुन्तै टोलबासीले थाहा पाउनेछन् ।