नेपालगन्ज २ फागुन : समाज हुने अपराध निस्तेज पार्न नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित बुद्धनगर टोलमा कम्युनिटी सेक्युरिटी साईरन तथा सिसिटिभी जडान गरिएको छ । बुद्धनगर टोल सुधार समितिमा रहेका ३५ घरले उक्त सेक्युरिटी जडान गरेका हुन् ।
‘कम्युनिटी सेक्युरिटी साईरन तथा सिसिटीभि’को सहयाताले अब बुद्धनगर टोल २४ सै घण्टा उच्च निगरानीमा हुनेछ । टोलमा हुने गरेको अवान्छनिय घटना तथा चोरी, अपराध न्यूनिकरणका लागि यस्तो प्रयासको थालनी गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगर, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग तथा एसपी ओमबहादुर रानाले बुद्धनगर टोल विकास समितिबाट जडान गरिएको उक्त ‘कम्युनिटी साईरन’ आईतबार एक कार्यक्रमकाबिच औपचारिक रुपमा उद्घाटन गरे ।
आईतबारदेखि सञ्चालनमा आएको उक्त सुरक्षा प्रणालीले अब टोलमा हुने कुनै पनि घटना, अपराध तथा अबान्छनिय कार्य सेकेण्डभरमै सबैले थाहा पाउनेछन् ।
समुदाय स्तरमै जडान गरिएको उक्त साइरन बाँकेमै पहिलो हो । यद्यपी यसअघिका बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका पालामा उक्त पद्धती जडानको पहल सुरु गरिएको थियो ।
बुद्धनगरमा जडान गरिएको उक्त सुरक्षा प्रणालीलाइ लिएर कार्यक्रममा उपस्थित वडाअध्यक्षले समेत चासो देखाएकाछन् । प्रविधिमैत्री आधुनिक सुरक्षा प्रणालीलाई अन्य वडामा समेत जडान गर्ने तयारी गरिएकोछ ।
टोलको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा उक्त साइरनले ठूलो भूमिका खेल्ने कार्यक्रमका वक्ताले धारणा राखेका थिए ।
बाँकेका प्रहरी प्रमुख रानाका अनुसार जिल्लामा वार्षिक एघार सय बढि मुद्दा दर्ता हुने उल्लेख गदै टोलटोलमा यस्तो साइरन राख्न सके त्यो संख्यामा कमि आउने दावि गरे ।
समितिका अध्यक्ष राजकेशर खनाल, सामुदायिक प्रहरी सेवाका दीपेन्द्र कुमार जोशी, समितिका सल्लाहकार धर्मेन्द्र शाह लगायतले टोलमा समस्या पर्दा वा घटना घटे लगत्तै साइरन बजाई सबैलाई सजग र सचेत बनाइनेछ । यसले टोलको सुरक्षा बलियो हुने अपेक्षा लिइएकोछ ।
३५ घरमा साइरन जडान गरिएको छ । एउटा घरमा दुई वटा मोबाईलमा घण्टी बज्ने ब्यवस्था गरिएकोछ । चोरी, आगलागि वा कुनै हिंसा वा घटना भए सो क्षेत्रमा रहेका ब्यक्तिले उक्त साइरनमा फोन डायल गर्नेछन् ।
फोन डायल गरेलगत्तै ३० सेकेण्डसम्म चर्को स्वरमा साइरन बज्नेछन् । साइरनको आवाजले टोलभरिका ब्यक्तिलाई जानकारी गराउनेनै छ भने ३५ घरका ७० जनाको मोबाइलमा एकैपटक म्यासेज जानेछ । त्यो पनि कुन ब्यक्तिले साइरन बजाएको हो त्यो ब्यक्तिको नामसहितको म्यासेज जाँदा सबैको ध्यान उक्त घर वा क्षेत्रतर्फ जानेछ ।
दोस्रो पटक कोड नम्बर थिच्दा प्रहरीकोमा म्यासेज जान्छ । प्रहरीले पाएको म्यासेजलाई तुरुन्तै एक्सन लिइ घटना घटेको वा घट्न लागेको अवस्थामा प्रहरीको उपस्थिती हुन्छ ।