नेपालगन्ज ४ फागुन : नेपाल–भारत सीमानाका जमुनाहबाट ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय जमुनाहले सुर्खेतकी सिर्जना थापालाई दुई ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतीय बजार रुपैडिहाबाट नेपाल आएकी ती महिलालाई चोक जाँचज गर्दा ब्राउनसुगर फेला परेको थियो । थापाले बोकेको हाते ब्यागमा उक्त ब्राउनसुगर फेला परेको हो ।
यो घटनासंगै सीमनाका खुला भएपछि पुनः लागुऔषधको कारबार बढेको पुष्टि भएको छ । पछिल्लो समय महिला, बालबालिकाले भारतीय क्षेत्रबाट लागुऔषध ल्याई नेपालका विभिन्न जिल्लामा पैठारी गर्दै आएकाछन् ।
यस्तै बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर– ५ स्थित धानको भुसमा लुकाईछिपाई राखेको १० केजी चरेश बरामद गरेको छ । बरामाद गरेको उक्त चरेश कसको हो भन्ने पत्ता नलागेपनि प्रहरीले अनुसन्धान थालेकोछ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयले कर्तब्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेकोछ ।
बाँकेको साविक उढरापुर– २ बस्ने २५ वर्षिय सुवास बडुवाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको मिति २०७० कात्र्तिक २४ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय फैसला भई हालसम्म फरार रहेका बडुवाललाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हालसम्म ५३० जना फरार अभियुक्त पक्राउ परेका छन् । भने यो अभियान निरन्तर चलिरहने जनाएको छ ।