वृहत आपतकालीन पूर्वअभ्यास गर्दै नेपालगन्ज विमानस्थल


वृहत आपतकालीन पूर्वअभ्यास गर्दै नेपालगन्ज विमानस्थल

नेपालगन्ज १३ फागुन : नेपालगन्ज विमानस्थलमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर भोली (शुक्रबार) १० देखि साढे १० बजेको बीचमा वृहत आपतकालिन अभ्यास गर्न लागिएको हो ।

नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले नेपालगन्ज विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपतकालीन उद्दारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको काम गर्न लागिएको बताए । यो अभ्यास हुने भएकाले नेपालगन्ज विमानस्थल यो अवधिमा बन्द हुनेछ ।

फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्दार टोली विमानस्थलमा आउनेछन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न लागिएको हो ।

विमानस्थल प्रमुख ठाकुरका अनुसार काठमाडौंमा यस प्रकारको अभ्यास नियमित हुनेगर्छ तर, आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्यास पहिलो पटक गर्न लागिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार पूर्णकालीन अभ्यासका लागि भैरहवा, धनगढी, जुम्लासहित नेपालगन्ज आसपासका अन्य विमानस्थलबाट समेत प्राविधिक नेपालगन्ज आउनेछन् ।
वायुसेवा कम्पनीहरुले समेत यसका लागि आफ्ना विमानस्थल प्रमुखहरुलाई नेपालगन्ज पठाउनेछन् ।

व्यवहारिक अभ्यास भएको र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे जानकारी हुने भएकाले सरोकारवाला सबैको सहभागिता सुनिश्चित गरिएको ठाकुरले बताए ।
नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो । पछिल्लो समय नेपालगन्जबाट पोखराका लागि समेत सिधा उडानको परीक्षण भइसकेको छ । सुदूरपश्चिम र कर्णाली भेगका विमानस्थलका लागि यो हव विमानस्थल हो ।

स्मरणरहोस्, गत वर्ष चैत्र १५ गते शनिबार विहान ११ः३५ बजे काठमाडौंबाट नेपालगन्जका लागि उडेको राष्ट्रिय ध्वजाबाहक कल साइन ९ एन एकेयू भएको टुवीनअटर जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

भेरी अस्पतालमा संकलन गरिएको कोरोना आशंकित विरामीहरुको स्वाब लिनका लागि सो बेला नेपालगन्ज आएको विमान दुर्घटना हुदाँ मानवीय क्षति भएको थिएन ।
सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशिल मानिएको विमानस्थलमा समयसापेक्ष हुने यसखाले अभ्यासले विमानस्थलमा कार्यरत कर्मचारी, प्राविधिक तथा सुरक्षाकर्मीलाई सचेत, सजग र अभ्यस्त बनाउने गर्छ ।