ब्राउन सुगरसहित उच्च अदालतका न्यायाधीशकी श्रीमती पक्राउ


ब्राउन सुगरसहित उच्च अदालतका न्यायाधीशकी श्रीमती पक्राउ

नेपालगन्ज १६ फागुन : जिल्ला प्रहरी कार्यालय दाङ ब्राउन सुगरसहित उच्च अदालतका न्यायाधीशकी श्रीमतीलाई पक्राउ गरेकोछ । सुन्दा अपत्यारिलो लाग्न सक्छ तर, यो वास्तविक हो । दाङ तुलसीपुरका एक न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।

तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेललाई आईतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार उनलाई ब्राउनसुगर लुकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको छ ।

तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिब बहादुर सिंहले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा तुलसाको स्कूटरबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

तुलसाका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् । पक्राउ परेकी तुलसा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् । पक्राउ परि प्रहरी हिरासतमा रहेकी तुलसाले आफुलाई फसाईएको प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो स्कुटरमा फेला परेको ब्राउन सुगरबारे आफुलाई थाहा नभएको भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरिरहेको एक प्रहरी अधिकारीले बताए ।

पोखरेललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान गरिरहेकोछ ।