वडाध्यक्षसँग नेपाल र भारतको ‘दोहोरो नागरिकता’


वडाध्यक्षसँग नेपाल र भारतको ‘दोहोरो नागरिकता’

विराटनगर १९ फागुन : मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर–८ का अध्यक्ष नुरुल मियाँले दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको छ । मियाँविरुद्ध वडासदस्यहरुले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

उनीसँग नेपाल र भारतका दुवै देशको नागरिकता भएको र दुवैतर्फ कारोबार गर्ने गरेको बताइएको छ । उनले भारतीय ७०५४९२०३५५७० भीआईडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड लिएको र भारतीय बैंकहरुमा खाता खोली एटीएम प्रयोग गर्ने गरेको उजुरीपत्रमा उल्लेख छ ।

मियाँले आफ्नै नामबाट भारतीय मोबाइल नम्बरसमेत निकालेर प्रयोग गर्ने गरेका छन् । जनता आवासलगायतको कार्यक्रमअन्तर्गत निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरीसमेत परेको हो । सुनवर्षी–८ का वडासदस्यहरु कन्हा मियाँ, कन्हैयालाल गन्गाई, दुखिया ऋषिदेव र शिलादेवी गन्गाईले जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।

सुनवर्षीका युवा इस्तियाज आलम र वडा सदस्यहरुले गएको माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा मियाँविरुद्ध दोहोरो नागरिकताको विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउन भन्दै उजुरी दिएका थिए । झुटो विवरण पेस गरेकोले नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बदर गर्न र सोही ऐनको दफा २१ बमोजिम कारबाही गर्न माग गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रधानमन्त्री जनता आवास कार्यक्रमअनुसार सुनवर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्नेमा हालसम्म १४ वटा मात्र घर बनाइएको र बनेका पनि नक्सा–स्टिमेटअनुसारको नबनेको व्यहोरोका उजुरी अख्तियारको कार्यालय धनकुटा र सम्पर्क कार्यालय इटहरीमा परेको छ । घर निर्माणको कार्य उपभोक्ता समितिमार्फत सुरु गरिएको थियो ।

स्टिमेट गरिएको घरको जग २२ फुटको भए पनि २० फुटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजनाअनुसार नभएको, इँटा, सिमेन्ट कमसल प्रयोग गरेको, रड स्टिमेटको भन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको वडा सदस्य कन्यहैया गन्गाईले बताए । -बाह्रखरीबाट