मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार


मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

नेपालगन्ज २१ फागुन : नेपालकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

एसिड आक्रमण परेकी वीरगन्जकी मुस्कान यो अवार्ड पाउने १५ वर्षीया खातुन पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन विश्वकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि वनेकी हुन् ।

एसिड आक्रमण अन्त्यतर्फ लक्षित उनको कार्यका लागि पुरस्कार प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । गत वर्ष विद्यालय जाँदै गर्दा खातुनमाथि तेजाब आक्रमण भएको थियो ।

अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बीच सो पुरस्कार खातुनलाई प्रदान गर्नेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

आईडब्ल्यूओसीले ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई सम्मान प्रदान गर्ने गर्छ । यसका अघिल्ला विजेताहरूमध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजाई पनि छिन् जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता पनि हुन् ।

मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले एसिड हमलाविरुद्ध कडा कानून र सजायको लागि आवाज उठाएकी थिइन् ।

उनले प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरिन् जसले एसिड हमलासम्बन्धी नयाँ कानूनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे ।

यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण रहेको ठहर आईडब्ल्यूओसीले गरेको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उनीमाथि वीरगन्जमा एसिड आक्रमण भएको थियो । उनको अनुहार, छाति र हातमा गहिरो चोट लागेको थियो । उनको स्वास्थ्यलाभको त्यो क्षण पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।