आत्मबल र मानसिक तयारीले मात्र प्रतिरक्षा सम्भव : बरिष्ठ प्रहरी उपरीक्षक राणा


आत्मबल र मानसिक तयारीले मात्र प्रतिरक्षा सम्भव : बरिष्ठ प्रहरी उपरीक्षक राणा

नेपालगन्ज २१ फागुन : महिला तथा किशोरीहरुका लागि आत्मसुरक्षा सम्बन्धि तालिम नेपालगन्जमा शुरु भएकोछ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका मूल समारोह समितिको आयोजनामा ३ दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट नेपालगन्जमा शुरु गरिएको हो ।

तालिमको उद्घाटन शत्रमा बोल्दै बरिष्ठ प्रहरी उपरीक्षक किरण राणाले शारीरिक र मानसिक रुपमा सक्रिय हुनुले महिलाहरुलाई आत्मसुरक्षामा सहयोग पुग्ने बताइन । उनले किशोरी तथा महिलाहरु यस सृष्टिको सबैभन्दा बलवान व्यक्ति भएको भन्दै आफुलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न हौसला प्रदान गरिन् ।

‘महिलाहरु यस सृष्टिका अमूल्य शक्ति हुन्’ बरिष्ठ प्रहरी उपरीक्षक राणाले थपिन्–‘जुन शक्ति र क्षमता महिलालाई सृष्टिले दिएको छ, त्यो अरु कसैलाई पनि दिएको छैन, यसर्थ आफ्नो मनोबल जहिले पनि उच्च राख्नुपर्छ ।’

‘तालिमले खासगरी बिधि प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्मबल र मानसिक तयारीले मात्र सम्भव हुने भन्दै जुनसुकैबेला पनि प्रतिरक्षाका लागि तयारी अवस्थामा रहन कार्यक्रममा उपस्थित किशोरी तथा महिलालाई उनले आग्रह गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नेपालगन्जकी उपमयेर उमा थापा मगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गरिन् । उनले राज्यले महिलालाई सुरक्षा, समाबेशिता, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भएपनि तपाई हामी स्वंयको असक्षमताले कार्यान्वयन गर्न नसकिने बताइन् ।

‘यो समाजले पनि महिला तिमी कमजोर हौ, तिमी कसैको ईशारामा चल्नुपर्छ भन्ने सोंच हालिदिएको छ’ उपमेयर थापाले थपिन्–‘यही सोंचकै कारण महिलाले आफुलाई कमजोर ठान्ने अवस्था छ । यही कमजोरीपनका कारण महिलामाथिको हिंसा, हत्या, बलात्कार जस्ता अपराध भएका छन् । यो यस्ता सोंचलाई कम गर्दै हाम्रो आत्मबल बढाउने यो कार्यक्रमको उद्देश्य छ ।’

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह, स्वास्थ्य तथा शिक्षा बिकास केन्द्रका उपाध्यक्ष गणेश प्रसाद भटराई, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोकका अध्यक्ष तेज बिक्रम शाह लगायतले महिला तथा किशोरीमाथिको सुरक्षाप्रति चिन्ता ब्यक्त गर्दै यसका लागि स्वयम शसक्तरुपमा अघि बढ्नु पर्ने धारणा राखे ।

शुक्रबारदेखि शुरु भएको आत्मसुरक्षा तालिम आईतबारसम्म सञ्चालन हुनेछ । सहभागिहरुको सहजताका लागि पहिलो सिफ्ट बिहान ७ देखि १० बजेसम्म र दोस्रो सफ्टि २ देखि ५ बजेसम्म सञ्चालन गरिएको छ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ अन्तराष्ट्रिय महिला दिवस मनाउन नेपालगन्जमा खुल्ला वक्तृत्वकला प्रतियोगिता, आत्मसुरक्षा तालिम, फुटसल प्रतियोगिता, ¥याली तथा व्यानर प्रदर्शन र दीप प्रज्वलनका कार्यक्रम तय गरिएको महिला तथा बालबालिका शाखा अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन ।