दश दिनको अन्तरालमा फेरि बर्दियामा बाघले मान्छे खायो


दश दिनको अन्तरालमा फेरि बर्दियामा बाघले मान्छे खायो

नेपालगन्ज २६ फागुन : भैंसी चराउन गएका बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षिय लालबहादुर थारुलाई बाघले मारेको दश दिन वित्न नपाउँदै बर्दियामा फेरि बाघले एक महिलालाई मारेकोछ ।

बर्दियाको मधुवन नगरपालिका– ३, स्थित सामुदायिक वनभित्र घाँस काट्न गएकी २७ वर्षिय युवतीलाई बाघले आक्रमण गर्दा ज्यान गएको हो । कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

योसँगै बर्दियामा यस वर्ष बाघको आक्रणबाट आठ जनाले ज्यान गुमाएका छन् ।

बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना निकालेर वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक–पटक आग्रह गरिरहेको छ ।

पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जङ्गल प्रवेश नगर्न र जानैपरे एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गरेकाछन् ।

यसअघि गत पुष दोस्रो हप्ता छोराको मोटरसाईकलमा बसेकी कैलालीक एक महिलालाई बाघले झम्टेर लगेको दुई महिनापछि पुनः बर्दियामा बाघले एक बृद्धलाई झम्टेर लगेकोछ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका ती बृद्धलाईलाई झम्टेर लगेको हो ।

फागुन १७ गते सोमबार दिउँसो साढे एक बजे बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षिय बृद्ध लालबहादुर थारु गेरुवा गाँउपालिका वडा नम्बर–६ बाझँपुर स्थित रहेको गेरुवा कर्णाली नदीको टापुमा भैसी चराउन गएका बेला बाघले झम्टेर लगेको थियो ।

थारुको खोजतलास गर्नेक्रममा सोदिन बेलुका पौने ७ बजे कर्णाली नदीको टापुदेखी अन्दाजी ३ सय मिटर उत्तर पुर्बमा रहेको झाडीमा क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो ।

यस्तै गतको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई बाघले झम्टेर लगेको थियो । बाघले आधा खाएको अवस्थामा उनको शव फेला परेको थियो ।

बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट आठ जनाको ज्यान गैसकेको छ । राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ ।