लहान विस्फोटको जिम्मा गोइत समुहले लियो, गोइत कार्यकर्ता खोज्दै प्रहरी


लहान विस्फोटको जिम्मा गोइत समुहले लियो, गोइत कार्यकर्ता खोज्दै प्रहरी

नेपालगन्ज १ चैत : भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूह तराई–मधेसमा सक्रिय हुन थालेको छ । आईतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटनस्थलमा पर्चा फेला परेसँगै सो समूह पुनः सक्रिय हुन थालेको संकेत मिलेको हो ।

मधेसकेन्द्रित सशस्त्र गतिविधि गर्ने समूह लामो समयदेखि निस्क्रिय थिए । तर, गोइत समूहका नाममा पर्चा भेटिएसँगै मधेशकेन्द्रित मुद्दा अघि सारेर सशस्त्र गतिविधि गर्ने समूह पुनः ब्यूँतिएको विश्लेषण सुरक्षा निकायले गरेका छन् ।

मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समुहले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएका हुन् ।

विज्ञप्तिमा भ्रष्टाचार उन्मूलन गर्न मोर्चाले बम विस्फोट गराएको उल्लेख छ । विस्फोटको कारण नेपाल सरकार र प्रदेश सरकार रहेको भन्दै सज्जन व्यक्तिलाई अपराधी भन्नु सरकारको गल्ती रहेको उल्लेख गरिएको छ । तराईमा भ्रष्टाचार उन्मूलन अभियानअन्तर्गत मोर्चाले विस्फोट जनाएको उक्त विज्ञप्तीमा उल्लेखछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित आठजना घाइते भएका छन् । विस्फोटमा सख्त घाइते भएका दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । मालपोत कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तलामा बिस्फोट हुँदा छर्रा लागेर कार्यालयमा कार्यरत ३८ वर्षीय कर्मचारी शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएका छन् ।

बमको छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका १३ का ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका १६, तरेगानाका ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका ३ का ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका ४ का ३८ वर्षीय फूलकुमार ठाकुर तथा गोलबजार ६ की ३५ वर्षीया लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विस्फोटपछि भएको आगलागीबाट कार्यालयका कागजात जलेका छन् ।

यसैबीच सिराहको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको घटनापछि प्रहरीले गोइत समूहका कार्यकर्ताहरुको खोजी शुरु गरेको छ । प्रहरीले गाइत समुहका कार्यकर्ता पक्राउ गर्न सर्च अभियान शुरु गरेको हो ।

तीन वर्षअघि नेपालमा ४४ सशस्त्र समूह देखिएको थियो । गृह मन्त्रालयका अनुसार हालसम्म गोइत समूहमात्रै अस्तित्वमा रहेको भएपनि लामो समय निश्क्रियरुपमा रहेको गोइतले राजनीतिक संक्रमणका बेला हिंसा मच्चाएको हो ।