जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ, नेपालगन्जहुदैँ भारत भागेका थिए


जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ, नेपालगन्जहुदैँ भारत भागेका थिए

नेपालगन्ज ६ चैत : गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।

माटो खन्ने क्रममा जेसिबीको बकेटले लागेर घाइते भएकी सरस्वतीको लाश नै गायब बनाउने नियतका साथ डोजर चालक साविकको सल्यान जिल्ला छायाँ क्षेत्र गाविस वडा नम्बर ९ तथा हालको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँका २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकीले डोजरले खाल्डो खनेर गाडेका थिए ।

घाइते भएकी सरस्वतीलाई जिउँदै गाड्दै गरेको देखेपछि स्थानीयले हारगुहार गर्दै उद्दार गरेका थिए । तर, उद्दारका क्रममा उनको मृत्यु भएपछि स्थानीयले डोजरमा आगो लगाएका थिए । सो लगत्तै डोजर चालक बुढाथोकी भने त्यहाँबाट भागेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

धादिङबाट भागेर सुरुमा दाङ पुगेका बुढाथोकीले त्यहाँ आफन्तसँग केही रकम मागेर नेपालगन्ज हुँदै भारत पुगेका थिए । उनी सुरुमा नेपालगन्जको बाटो हुँदै भारतको हरियाणामा रहेका आफन्तकोमा बस्न पुगेका थिए । काम विशेषले भारत आएका बताएका बुढाथोकी नेपालमा हत्या गरेर भागेको थाहा पाएपछि आफन्तले प्रहरीकोमा आत्मसमर्पण गर्न पनि सुझाएका थिए । तर, भीम भने आत्मसमर्पण नगरी त्यहाँबाट पनि भागेर भारतको हरिद्वारमा आएर बस्न थालेका थिए ।

हरिद्वारमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगन्ज आएका थिए । नेपालगन्जको एक होटलमा उनी एक युवतीसँग ३ दिन बसेका थिए । उनको बारेमा प्रहरीले थाहा पाएपछि उनी बुधबार नै भारत फर्किएका थिए । मोबाइल लोकेशन र कल डिटेलका आधारमा प्रहरीले पक्राउ गर्नसक्ने भन्दै उनले आफूले प्रयोग गरिरहेको सिम कार्ड भाँची मोबाइलसमेत फुटाएर सोही होटलमा छाडेका थिए ।

बुढाथोकीलाई पछ्याउँदै गएको सिआइबीको टोली होटलमा पुग्नु अगाडि नै उनी त्यहाँबाट भागिसकेका थिए । त्यसपछि उनलाई पछ्याएको सिआइबीको टोलीले बिहीबार हरिद्वारबाट पक्राउ गरेको हो ।

डोजर चालक बुढाथोकीको लाइसेन्ससमेत नभएको पाइएको छ । लाइसेन्स नभएको व्यक्तिले चलाएको डोजरबाट सरस्वतीको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्यानमै मुद्दा चल्न सक्नेछ । साथै लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिने डोजर मालिकलाई पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सिआइबीले भने नेपाल भारत सीमाको गड्डाचौकीबाट पक्राउ गरेको दाबी गरेको छ ।