बाँके प्रहरीले समात्यो पाटे बाघको छाला सहित ४ जना


बाँके प्रहरीले समात्यो पाटे बाघको छाला सहित ४ जना

नेपालगन्ज ९ चैत : बाँके प्रहरीले संरक्षित वन्यजन्तु पाटेबाघको छालासहित ४ जनालाई पक्राउ गरेकोछ ।

बाँके प्रहरीले हिजो आईतबार राती अन्दाजी ६ बजे बाँके बैजनाथ गाउापालिका वडा नम्बर १ च्यामा स्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित ४ जनालाई नियन्त्रणमा लिइएको हो ।

सो क्षेत्रमा अबैध पाटेबाघको छाला, हड्डीको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चिसापानीतर्फबाट कोहलपुरतर्फ पैदल आउदै गरेका गंग बहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपालीका साथबाट पाटेबाघको छाला एक थान र २ केजी ५ सय ग्राम बाघको हड्डि बरामद गरेको प्रहरीले जनाएकोछ ।

पक्राउ परेका जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको छाला एक थान र गंग बहादुर खत्रीले हातमा समातेको प्लाष्टिकको बोराभित्र बाघको जस्तो देखिने हड्डी २ केजि ५ सय ग्राम फेला पारेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

बरामद भएको पाटेबाघको छाला र हड्डि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाइएकोछ ।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नम्बर–११ का ५० वर्षिय गंग बहादुर खत्री र २० वर्षिय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर–४ का ३९ वर्षिय चन्द्र अधिकारी तथा जुम्ला तिला गाँउपालिका वडा नम्बर–४ का ३८ वर्षिय जयलाल नेपाली रहेकाछन् ।

बाँके प्रहरीका अनुसार पक्राउ परेकामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्ष देखी १० वर्षसम्म कैद सजाय हुन सक्छ ।