नेपालगन्ज १० चैत : बाँके प्रहरीले दाइजोमा मोटरसाईकल नल्याएको निहुँमा आफ्नो बुहारी जलाउने एक जना ससुरालाई पक्राउ गरेकोछ । बुहारी जलाउने बाँके नरैनापुरका हनिफ शेष(ढपाली)लाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो ।
दाइजोमा मोटरसाइकल नल्याएको भन्दै उनले मट्टितेल छर्केर बुहारीलाई जलाएका थिए । प्रहरीका अनुसार दाइजोमा मोटरसाईकल नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँले ती महिलालाई मट्टितेल छर्केर आगो लगाएका थिए । घटना २०७० चैत्र २ गतेको हो । बुहारी जलाउने घटनामा प्रत्यक्ष संलग्न श्रीमान् फरिद र सासु सजहाद अझै फरार रहेको बाँके प्रहरीले जनाएको छ ।
आगो लगाइएकी उनी लामो समयसम्म काठमाडौँमा उपचार भएर बाँच्न सफल भएकी थिइन् । नरैनापुर गाउँपालिकाको वडा नम्बर– १, सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि पुगेको प्रहरीले ससुरा हनिफलाई नियन्त्रणमा लिएको हो ।
घटनापछि हनिफका परिवार नै भारतमा गएर बसेका थिए । नेपाल प्रहरीले पटक–पटक प्रयास गर्दा पनि भारतीय प्रहरीले सहयोग नगर्दा ढपाली परिवारलाई पक्राउ गर्न सकिएको थिएन ।
बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान थालेर भारतीय प्रहरीसँग समन्वय बढाएपछि भारतमा लुकेर बसेका अभियुक्तहरु पक्राउ परिरहेका छन् । योसहित बाँके प्रहरीले चालु आर्थिक वर्षको हालसम्म ५ सय ५५ जना फरार अभियुक्त पक्राउ गरेकोछ ।