बर्दियाबाट समातेर बाँके ल्याइएको मान्छे खाने बाघ खोरबाट भाग्यो


बर्दियाबाट समातेर बाँके ल्याइएको मान्छे खाने बाघ खोरबाट भाग्यो

केही दिनअघि बर्दियाको खाता जैविकमार्गबाट समातिएको यही बाघ बाँकेमा राखिएको थियो । मङ्गलबार बिहान खोरबाट यही बाघ भागेको हो ।

नेपालगन्ज १० चैत : बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट चैत ५ गते नियन्त्रणमा लिइएको पाटेबाघ खोरबाट भागेकोछ ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समातेर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको सो पाटेबाघ खोरको एंगल बंगाएर पुनः आफ्नो प्राकृतिक घर जंगल पसेको छ ।

बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार साहका अनुसार डार्ट गरि (गोली हानी लठ्याएर) समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको थियो । बाघ खोरबाट भागेको खबरसंगै यतिबेला सो क्षेत्रमा त्रास फैलिएकोछ ।

बार्डेन साहका अनुसार त्यसरी राखिएको बाघ मंगलबार बिहान ४ः४५ बजेसम्म उक्त खोरमै रहेको सिसी टिभी फूटेजमा देखिएको छ । बाघको अनुगमनको लागि निकुञ्जले राखेको सिसी टिभी फूटेजमा बाघले खोरको डंडी (एंगल) बंगाएर बिहान सवा ६ बजेतिर खोरबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा जंगलमा गएको देखिएको वार्डेन साहले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘बाघ भागेको भन्न मिल्दैन बरू त्यो बाघ चिडियाखानाबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा गएको हो,’ साहले भने, ‘ऊ त आफ्नो घरमा गएको हो, बरू हामीले पो उसलाई थुनेर राखेका थियौं ।’

उक्त खोर आर्थिक वर्ष २०७४/७५ मा निर्माण गरिएको साहले बताए । बाघ निस्किएर आफ्नो प्राकृतिक जन्मस्थल बर्दिया राष्ट्रिय निकुञ्जतर्फ गएको देखिएको पनि साहले जानकारी दिए ।

बाघ थुनेको खोरबाट निस्किएर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको साहले बताए ।

‘हाम्रा बिभिन्न चेक पोष्टमासमेत कहीँ कतै उक्त बाघ देखापरे तत्काल निकुञ्जमा सूचना दिन हामीले आग्रह गरेका छौं,’ साहले भने, ‘त्यसो हुन सकेमा हामीले उक्त बाघलाई धपाउँदै (डो¥याउँद) उस्को प्राकृतिक बासस्थानमा पु¥याउन प्रयास गर्नेछौं ।’

त्यसका साथै सर्वसाधारणलाई साईकल, मोटरसाईकल, अटो रिक्सा जस्ता सवारी साधानमा यात्रा नगर्न सजग गरिएको उनले बताए ।
उक्त बाघले बर्दिया क्षेत्रमा मानिसलाई पटक/पटक आक्रमण गरेको सूचनाका आधारमा समातिएको थियो ।