प्रहरीमा सबैभन्दा धेरै आत्महत्याका घटना दर्ता


प्रहरीमा सबैभन्दा धेरै आत्महत्याका घटना दर्ता

नेपालगन्ज ३१ चैत : नेपाल प्रहरीमा पछिल्लो ८ महिनामा २६ हजार ३०६ वटा घटना दर्ता भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार यो अघिल्लो वर्षको फागुन मसान्तसम्म दर्ता घटनाको तुलनामा १६.१६ प्रतिशतले कम हो ।

कुँवरका अनुसार आर्थिक वर्ष २०७७ साउनदेखि फागुनसम्म सबैभन्दा धेरै आत्महत्याको ४ हजार ४८३ वटा घटना दर्ता भएका छन् । ‘आत्महत्यापछि सार्वजनिक हित सम्बन्धी कसूरमा ४ हजार ३६८ वटा घटना दर्ता भएको देखिन्छ’, उनले भने, ‘यही अवधिमा लागूऔषधको १ हजार ९८३ घटना दर्ता भएका छन् ।’

लागूऔषधपछि बैंकिङ कसूर, जबरजस्ती करणी र चोरीसम्बन्धी घटना क्रमशः १ हजार ६८८, १ हजार ६५३ र १ हजार ५६९ वटा घटना दर्ता भएको प्रहरीको तथ्यांक छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरका अनुसार पछिल्लो ८ महिनामा हत्या सम्बन्धी ४४७ वटा घटना दर्ता भएका छन् । ०७६ साउनदेखि फागुनसम्मको अवधिमा दर्ता भएको घटनाभन्दा २१.१२ प्रतिशतले बढी हो ।

Kanti Aarogya Hospital Nepalgunj

कुँवरका अनुसार यो अवधिमा चोरीका घटना चाहिँ कम भएका छन् । २०७६ साउनदेखि फागुनसम्मको अवधिमा २ हजार ७ चोरीका घटना दर्ता भएकामा यो वर्षको साउनदेखि फागुनसम्म १ हजार ५६९ घटना दर्ता भएका छन् । यो २१.८२ प्रतिशतले कम भएको कुँवरले बताए ।

उनका अनुसार महिला तथा बालबालिका सम्बन्धी घटना पनि ८ महिनाको अन्तरमा घट्दो अवस्थामा छन् । तर, गत आर्थिक वर्षको तुलनामा ८.५१ प्रतिशतले बढेको उनले सुनाए ।