नेपालगन्ज १ वैशाख : स्वर्गद्वारी दर्शनका लागि जाने क्रममा प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी रहेका जीप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटना हुदाँ ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार नयाँ वर्षको दिन विदा पारेर स्वर्गद्वारी दर्शन गर्न गएका उनीहरुको बुधबार दिउँसो स्वर्गद्वारी रुमालेमा दुर्घटना भएको थियो ।
दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको छ ।
यस्तै प्यूठान प्रहरीका अनुसार दुर्घटनामा अन्य दश जना घाइते छन् । घाइते हुनेहरूमा रेसुङ्गा नगरपालिका ४ की २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, रेसुङ्गा नगरपालिका १ की गीता मुखिया, १२ वर्षीय अनिश बोहोरा रहेका छन् ।
यसैगरी रेसुङ्गा नगरपालिका– २ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, ३३ वर्षीय दिलबहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली, १२ वर्षीय सार्थक ज्ञवाली, चार वर्षीया निकिता पौडेल र मल्लरानी गाउँपालिका ३ का ३० वर्षीय सन्दीप परियार घाइते भएका छन् ।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।