गुल्मी २ वैशाख : जिल्ला प्रशासन कार्यालय गुल्मी आज एक दिन पूर्णरुपमा बन्द भएको छ ।
स्वर्गद्वारी दर्शन गर्न जानेक्रममा प्यूठानको रुमालेमा भएको जिप दुर्घटनामा परि जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको थियो ।
दुर्घटनामा परि कर्मचारीको मृत्यु भएपछि शोकमा डुबेको प्रशासन कार्यालय आज (बिहीबार) कार्यालय पूर्णरुपमा बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीका अनुसार आज कार्यालय पूर्णरुपमा बन्द हुने र आगामी ५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
गुल्मीबाट नयाँ वर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा लु१ज १६५५ नम्बरको प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना हुँदा मुसिकोट नगरपालिका–३ का चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपाने र खरिदार मालिका गाउँपालिका–७ निवासी ३५ वर्षका यमलाल पन्थीको मृत्यु भएको थियो ।
जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली दुर्घटनामा परेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मासहितको टोली प्युठान पुगेको थियो । जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोली दुर्घटनास्थल र घाइतेहरुको अबस्था बुझेर गुल्मी फर्किएका छन् ।
मृतक ५ जनामध्ये स्याङजा निवासी श्याम न्यौपानेको शव आफन्तले बुझेका छन् । अन्य ५ जनाको शव श्रद्धाञ्जलीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा राखेर आफन्तलाई बुझाइने छ ।