एकैदिन बाँकेमा दुई सय जनामा कोरोना पुष्टि, ७ जना भेन्टिलेटरमा उपचाररत

४० जना आइसियुमा, अवस्था भयाबह बन्दै


रवि कनोजिया रवि कनोजिया   शुक्रबार, वैशाख ३, २०७८
एकैदिन बाँकेमा दुई सय जनामा कोरोना पुष्टि, ७ जना भेन्टिलेटरमा उपचाररत

नेपालगन्ज ३ वैशाख : बाँकेमा एकैदिन दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । कोरोना भाइरस संक्रमणका बीच एकैदिन यति ठूलो मात्रामा कोरोना पुष्टि भएको यो पहिलो पटक हो ।

एकैदिन ठूलो मात्रामा कोरोना भाइरस संक्रमण देखिएपछि सरोकारवालाले अवस्था भयावह बन्ने भन्दै चिन्ता र चासो ब्यक्त गरेकाछन् । बाँकेका तीन वटा ल्याबमा गरिएको नमुना परीक्षणमा १०९ जना पुरुष र ९१ जना महिला गरि जम्मा २ सय जनामा कोरोना पुष्टि भएकोछ ।

भेरी अस्पताल नेपालगन्जको ल्याबमा मात्रै पछिल्लो २४ घण्टामा गरिएको एक सय ८३ स्वाब परीक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डाक्टर प्रकाश थापाका अनुसार भेरीमा पुष्टि भएका संक्रमितमध्ये ९० जना भर्ना भएकाछन् । जसमध्ये ७ जना भेन्टिलेटरमा र ४० जना आइसियुमा उपचाररत भएको उनले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

मेसु थापाले कुनै न कुनै हिसाबमा संक्रमण समुदायमा फैलिएको आंशका व्यक्त गरे । उनले भने, ‘अघिल्लो वर्ष पनि यही समयमा बाँकेमा उच्च संक्रमण देखिएको थियो । यसले समुदायमा संक्रमण फैलिएको देखिन्छ, उनले थपे,–‘यो पहिलेको भाइरस हो वा नयाँ भेरियन्ट वा म्यूटेट के हो भन्ने यकिन भएको छैन । यद्यपी सबै उमेरसमुहका लागि संक्रमण भइरहेकोछ ।’

बाँकेमा कोरोनाकै कुन भाइरस हो भनेर भेरियन्ट वा म्यूटेट भाइरस जाँच्ने प्रविधि नभएको तर, अघिल्लो वर्षको तुलनामा भाइरस तिव्र फैलिएको मेसु थापाले बताए ।

बाँकेमा परीक्षण गरिएका पीसिआर नमुनामध्ये ७० प्रतिशतसम्म पोजिटिव रेट देखिदाँ संक्रमणको व्यवस्थापनलाई लिएर पनि प्रश्न उठेको छ ।

कोरोना संक्रमणको संख्या बढेसँगै संक्रमितले भेरी अस्पतालका बेड पनि भरिन थालेका छन् । आज मात्र अस्पतालमा कोभिडका लक्षण भएका ९० जना लक्षणसहितका बिरामी उपचाररत छन् । अर्कोतिर भेरी अस्पतालमा पिसिआर नमुनाको लोड पनि बढेको बताइएको छ ।

अस्पतालले आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको भएपनि यहि क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुस्किल हुने मेसु डाक्टर थापाले बताए ।