नेपालगन्ज ४ वैशाख : बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि ज्यान गुमाउने सबैको सनाखत भएकोछ ।
सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नम्बर– ३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर– १२ बस्ने २१ वर्षिय उदय बाँठा, बसका साहु मेचीनगर नगरपालिका झापाका ४५ वर्षिय छत्र बहादुर कटुवाल, सोही बसमा रहेका सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र सिरहा जिल्ला सुखिपुर गाउँपालिका वडा नम्बर–५ की अम्बिका कान्ति रहेका छन् ।
दुर्घटनामा ३७ जना घाइते भएका थिए । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
ट्राफिक प्रमुख भण्डारीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत कोहलपुर भ्यू टावरभन्दा दुई किलोमिटर पूर्व कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाको सीमाना नजिक शुक्रबार बेलुका ६ बजे दुर्घटना भएको थियो ।
सुर्खेतबाट काँकडभित्ता जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट (ना अअ प ४१) नम्बरको मालबाहक टिप्पर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि घटनास्थलमै एकजनाको ज्यान गएको थियो भने एक महिलासहित ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
तीव्र गतीमा रहेका दुवै सवारीसाधन एकआपसमा ठोक्किएपछि टिप्पर र बस उछिट्टिएर सडक छेउ पुगेका थियो ।
ट्राफिक प्रहरी प्रमुख भण्डारीले भने–‘घटना भए लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सवारीका यात्रुको सहयोगमा उद्दार गरि घाईतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल उपचार भइरहेकोछ ।’
उनका अनुसार दुर्घटनामा घाईते भएका थप ७ जनाको अवस्था चिन्ता जनकछ । भने ३० जना सामान्य घाईतेको उपचार भइरहेकोछ । दुर्घटनामा बस र टिप्पर क्षतविक्षत हुदाँ उद्दारका लागि क्रेन र स्काभेटर प्रयोग गरिएको थियो ।