नौ महिनामा मरे ३० गैंडा


नौ महिनामा मरे ३० गैंडा

चितवन ५ वैशाख : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैंडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैंडा मरेपछि निकुञ्जले गैंडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।

प्राकृतिक कारणले मरेका गैंडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । हालै गैंडा गणना भएपछि कुन क्षेत्रमा कति गैंडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए । चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ। केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन। गत वर्ष चोरी शिकार शून्य रहेको थियो । बरालले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए । सन् २०१५ पछि यस वर्ष गैंडा गणना गरिएको हो । यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैंडा भेटिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो। त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ ।

बाढीबाट केही गैंडा बगेर भारत पुगेको अनुमान छ । भारतबाट १० वटा गैंडा फिर्ता ल्याइएको भए पनि अझै केही गैंडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ । आशा गरेअनुसार गैंडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन् । -रासस