कञ्चनपुर २७ वैशाख : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन ।
पछिल्लो दुई दिनमा प्रहरीले खैरो हेरोइनसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजारका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले यसअघि खैरो हेरोइन पैठारीमा यहाँका सीमा नाकाबाट एक दर्जनभन्दा बढी भारतीय युवकलाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरीले यहाँको दोधारा चाँदनीबाट पनि स्थानीयवासी ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हेरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताए ।
उनले अभियुक्तहरूको साथबाट १४।६९ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका अभियुक्तहरूलाई मुद्दा चलाएर कारबाही अघि बढाइने बताए ।
‘लागूऔषध कारोबारी प्रहरी लकडाउनमा व्यस्त छ भनेर सलबलाए’, उनले भने, ‘तर प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ ।’ -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं