टिपरको ठक्करबाट सेनाका प्युठको मृत्यु, सिपाही गम्भीर घाइते


टिपरको ठक्करबाट सेनाका प्युठको मृत्यु, सिपाही गम्भीर घाइते

तनहुँ ३१ वैशाख : टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भइ हाल इन्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार एकजना सख्त घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नम्बरको टिपरले आँबुखैरेनी गाउँपालिका–२, खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगंगा–४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलाई ठक्कर दिइ फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । -रासस