स्थानीयले विष खुवाएर पाटे बाघ मारेको आशंका


स्थानीयले विष खुवाएर पाटे बाघ मारेको आशंका

बाँकेको गोकुल सामुदायिक वनमा आईतबार मृत भेटिएको बाघ ।

नेपालगन्ज ४ जेठ : बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर–५ स्थित गोकुल सामुदायिक वनमा मृत भेटिएको पाटेबाघ स्थानीयले विष खुवाएर मारेको आशंका गरिएकोछ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहका अनुसार आईतबार भेटिएको अन्दाजी १० वर्षको भाले पाटेबाघ स्थानीयले विष खुवाएर मारेको हुनसक्ने बताएका हुन् ।

पाटेबाघ मृत भेटिएको खबर पाएलगत्तै निकुञ्ज टिम घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको निकुञ्ज टिमको अनुसन्धानमा उक्त पाटेबाघ १०–१५ दिन पहिला नै मरेको जस्तो देखिन्थ्यो’ निकुञ्जका प्रमुख साहले भने –‘पाटेबाघको शरीरमा किरा पर्न थालेको थियो, गन्हाएको अवस्थामा थियो जसका कारण पोष्टमार्टम पनि गर्न सक्ने अवस्था थिएन ।’

बाहिरबाट हेर्दा बाघको शरीरमा चोट–पटक देखिएन । छाला पनि निकालेर लगेको नभएकाले तस्करले मारे होलान् भन्ने देखिन्न किनकी मृत बाघको शरीरमा सबै अंगहरू रहेकाले तस्करहरूले मारेको नदेखिने साहले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘अहिलेसम्म हामीले स्थानीयले नै मारेको हुन सक्ने आशंका गरेका छौं । तस्करहरूको संलग्नता थियो कि थिएन भन्नेबारे अनुसन्धानपछि थाहा हुन्छ,’ साहले भने ।

‘पाटेबाघ मृत भेटिएको केही टाढा एउटा राँगो पनि मरेको फेला परेको छ । बाघले वस्तुभाउ खाइदिन थालेपछि स्थानीयले विष खुवाएर बाघलाई मारे हो की भन्ने हाम्रो आशंका छ । तर, अनुसन्धानबाट खुल्छ’ निकुञ्ज प्रमुख साहले बताए ।

मृत बाघलाई वन कार्यालयका कर्मचारीले कार्यालयको परिसरमै खाल्डो खनेर पुरेका छन् । ‘डिएनए परीक्षणका लागि नमूना संकलन गरेर राखिएको छ,’ निकुञ्ज प्रमुख साहले भने,‘यसको सुक्ष्मरुपमा अनुसन्धान सुरु गरिसकेका छौं, बाघ कसले मा¥यो किन मा¥यो भन्ने विषय अनुसन्धानबाट खुल्छ ।’

बाँके राष्ट्रिय निकुञ्जमा बाघ मारिएको यो पहिलो घटना हो । सन् २०१८ को गणनाअनुसार बाँके राष्ट्रिय निकुञ्जम २१ वटा बाघ छन् । यसअघि बर्दियामा आतंक मच्चाएको पाटेबाघलाई बाँके राष्ट्रिय निकुञ्जमा राखिएको थियो । केही दिनपछि उक्तबाघले खोर तोडेर भागेको थियो ।