महोत्तरीमा शौचालय निर्माण विवादमा झडप, एकजनाको मृत्यु


महोत्तरीमा शौचालय निर्माण विवादमा झडप, एकजनाको मृत्यु

जलेश्वर ४ जेठ : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा मंगलबार शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

नातामा मामाभान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा मंगलबार शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो ।

लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यता जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको तथा घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ । -रासस