नेपालगन्ज १२ जेठ : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवार गाडी दुर्घटनामा परेको छ ।
दाङ तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कार्पियोले प्रदेश ३–०१०२२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिँदा अध्यक्ष पोख्रेलसँगै सवार रहेका नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुदीप गौतम घाइते भएका छन् ।
नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्केको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम लगाएतको टोली सवार रहेको थियो ।
पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएकोछ ।