अब राउटे बस्तीमा बाहिरी मान्छे गए कारबाही हुने, तीन दर्जन सुरक्षाकर्मी खटाइयो

युवतीलाई काउन्सिलिङ गर्न कार्यदल


अब राउटे बस्तीमा बाहिरी मान्छे गए कारबाही हुने, तीन दर्जन सुरक्षाकर्मी खटाइयो

File Photo

नेपालगन्ज २४ जेठ : राउटे बस्तीमा बाहिरी मान्छे आउजाउमा कडाई गरिनेभएकोछ । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ मा बस्दै आइरहेका दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको समाचार सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीमा सुरक्षा कडा बनाएको हो । बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षा बढाउन आफूले निर्देशन दिएको बताएकाछन् । प्रदेशसभा बैठकमा सहभागी हुन आएका शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।’

दुई युवतीमाथि भएको घटना निन्दनीय भएको मुख्यमन्त्रीको भनाइ छ । आफूले दोषीलाई कडा कारवाही गर्न र ती युवती तथा राउटे बस्तीको सुरक्षा गर्न निर्देशन दिएको उनले बताए ।

मुख्यमन्त्री शाही भन्छन्, ‘अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ ।’ उनले पीडित दुवै युवतीलाई बचाउन सरकारले सबै योजना अवलम्बन गरिरहेको उल्लेख गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘अहिले सुरक्षाको योजना लागू गरिसकेका छौं । त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई यहाँ बोलाएको छु । राउटेका मुखियालाई आवश्यक सहयोग गर्ने र युवतीलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाउने योजना बनाइरहेका छौं । त्यसका लागि युवतीलाई काउन्सिलिङ गर्न तीन सदस्यीय कार्यदल नै खटाएको छु ।’

उनले अनुसन्धानका नाउँमा विभिन्न संस्थाहरुको लाइन लागेर आइरहेको बताउँदै त्यसले ती दुवै युवतीको ज्यान तलमाथि हुने सम्भावना भएका कारण कसैलाई पनि बस्तीनजिक जान नदिइएको बताए ।

यसैबीच, राउटे समुदायका युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तीनजनालाई हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोछ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन् ।

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए । उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए । सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार नै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन् ।