निषेधाज्ञाका बेला महिला–बालबालिका हिंसाका ३७ घटना


निषेधाज्ञाका बेला महिला–बालबालिका हिंसाका ३७ घटना

चितवन २८ जेठ : कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् ।

वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

घरेलु हिंसाका घटना १३ वटा, जबरजस्ती करणीका ३ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्ती करणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएका छन् । निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए ।

निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उनले जानकारी दिए । थापाले भने–‘घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन् ।’ कोभिड १९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् । -रासस