नेपालगन्ज २ असार : राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
अविरल वर्षापछि आएको बाढीमा लमही नगरपालिका–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका–२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षकै गणेश यादव फसेका थिए ।
राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा उनीहरु फसेका थिए । लमही–७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो ।
बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । मौसमविदका अनुसार अझैं केही दिन वर्षासंगै बाढी र पहिरोको जोखिम रहेकोछ ।