गुल्मीमा १२ ठाउँमा बाढीपहिरो, ४ वटा सडक अवरुद्ध


गुल्मीमा १२ ठाउँमा बाढीपहिरो, ४ वटा सडक अवरुद्ध

File Photo

नेपालगन्ज २ असार : अविरल वर्षाका कारण यतिबेला गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गुल्मीका केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् ।

धुर्कोट गाउँपालिका–५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् ।

यस्तै मदाने गाउँपालिका–२ म्यालपोखरिमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् ।

रूरूक्षेत्र गाउँपालिका–१ लामाचौरपारिमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुवानमा परेका हुन । उनीहरु सुरक्षित स्थान सरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाठमा एक घर / सिलाजी मन्दिर कालिगण्डकीको बाढीको जोखिममा परेका छन् ।

यस्तै पहिरोका कारण बाग्लुङ सडक खण्डअन्तर्गत सत्यवति गाउँपालिका – ६ उल्लिखोला र वडानम्बर ४ को साहाघाटमा सडक अवरुद्ध भएको छ ।
मुसिकोट तम्घास सडक खण्डअन्तर्गत दोभानमा पहिरो जाँदा सडक पूर्णरुपमै बन्द भएको छ ।

कालीगण्डकी–४ पुर्तिघाटमा पनि खहरे खोला बढेर सडक अवरुद्ध भएको छ । रेसुङ्गा नगरपालिका–१३ भगारिमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध छ ।

रूरूक्षेत्र गाउँपालिका–४ मा पनि सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकोले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।