बाढीपहिरोले लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध


बाढीपहिरोले लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गको रुपन्देही देवदह सडकखण्ड

नेपालगन्ज २ असार : लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका मुख्यसहित पहाडी सडकहरु अबरुद्ध भएका छन् ।

लुम्बिनी प्रदेशमा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहानदेखि नै अबरुद्ध छ भने सिद्धार्थ राजमार्ग मंगलबार रातिदेखि अवरुद्ध छ ।

बुटवल–नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अबरुद्ध पूर्वपश्चिम राजमार्ग आज बुधबार पनि खुल्न सकेको छैन ।

निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूर्णरुपमा अवरुद्ध छ । यो खण्डको तिनाउ–५ कालिमाटी, तानसेन–८ को गौडापुल, जरेपिपल तथा तानसेन–१४ गाईघाटमा पहिरो गएको छ ।

गौडापुलमा पहिरोले ५० मिटर सडक भत्काइदिएको छ । जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फको यातायात सेवा सुरु हुन केही दिन लाग्ने डीएसपी पाण्डेले बताए ।

यस्तै तानसेन–रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यसैगरि रिडी–तम्घास र रिडी–वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका डीएसपी पाण्डेले बताए ।

पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा–४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध छ ।

यस्तै गोरुसिङ्गे–सन्धिखर्क सडकको फुदवाङ, प्युठान–भालुवाङ सडकको सरुमारानी–४ खहरेखोलामा पहिरो जांदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको डीएसपी पाण्डेले बताए ।

बुटवल–नेपालगन्ज राजमार्ग भने सुचारु रहेको उनले बताए । भारी वर्षा नरोकिएकाले यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।