ठाँउ–ठाँउमा सडक अबरुद्ध, आधा दर्जन बढी बेपत्ता र मृत्यु
नेपालगन्ज २ असार : अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । वर्षाको कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन, नवलपरासी (पूर्व) र बाजुरामा क्षति पुगेको छ ।
लगातार परेको वर्षाका कारण बाढी, पहिरोले घर, वस्ती र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको छ । देशका अधिकांश नदी तटिय क्षेत्रमा डुवान, कटान हुनुका साथै नदीमा पानीको वहाव उच्च भएकोछ । अन्य केही स्थानहरुमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
सिन्धुपाल्चोकमा बबण्डर
अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।
क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले पनि त्यहाँ बाढी पहिरोबाट क्षति भइरहेको छ । सोही गाउँपालिका १ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका ७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ ।
पाल्पामा पहिरो
पाल्पामा पनि पहिरोमा परी एक जनाको मृत्यु भएको छ । रिप्दीकोट गाउँपालिका ४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घर पहिरोले पुर्दा उनका छोरा १९ वर्षीय मदन भट्टराइको मृत्यु भएको छ ।
प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी पाल्पा, तानसेन नगरपालिका ८ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग, तानसेन नगरपालिका ८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका ३ हार्थोक नजिक पाल्पा गुल्मी सडकखण्डमा अविरल वर्षाको कारण मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
मनाङमा बाढी
मनाङ, चामे गाउँपालिका ४ र नासो गाउँपालिका ३ स्थित अबिरल वर्षाको कारण मंगलबार दिउँसो आएको बाढीले चामे गाउँपालिका ४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ वटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन, २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका ३ बस्ने शेर बहादुर गुरुङको घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका १ का ४८ घरका ३ सय जनालाई सुरक्षित स्थानमा सारेको छ ।
लमजुङमा उर्लियो दोर्दीखोला
लमजुङ, दोर्दी गाउँपालिका ८ हिलेबजारमा अबिरल वर्षाको कारण दोर्दी खोलामा आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाउएको छ भने २ वटा घर जोखिममा परेका छन् ।
प्रहरी चौकी चितीको प्रहरीले घर परिवारलाऐ सुरक्षित स्थानतर्फ सारेको छ। साथै सोही गाउँपालिका ६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाइड्रो पावरको ड्याममा समेत क्षती पु¥याएको छ ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका ३ फुतवाङस्थित गोरुसिंङ्गे सन्धिखर्क सडकमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक खुलाउन प्रहरीले आवश्यक पहल गरिरहेको छ ।
गुल्मीमा १२ ठाउँमा बाढीपहिरो, ४ वटा सडक अवरुद्ध
अविरल वर्षाका कारण यतिबेला गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गुल्मीका केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् ।
धुर्कोट गाउँपालिका–५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् ।
यस्तै मदाने गाउँपालिका–२ म्यालपोखरिमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् । रूरूक्षेत्र गाउँपालिका–१ लामाचौरपारिमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुवानमा परेका हुन । उनीहरु सुरक्षित स्थान सरेका छन् ।
कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाठमा एक घर/सिलाजी मन्दिर कालिगण्डकीको बाढीको जोखिममा परेका छन् । यस्तै पहिरोका कारण बाग्लुङ सडक खण्डअन्तर्गत सत्यवति गाउँपालिका – ६ उल्लिखोला र वडानम्बर ४ को साहाघाटमा सडक अवरुद्ध भएको छ । मुसिकोट तम्घास सडक खण्डअन्तर्गत दोभानमा पहिरो जाँदा सडक पूर्णरुपमै बन्द भएको छ ।
भीमफेदी–कुलेखानी सडक अवरुद्ध
मकवानपुर, भीमफेदी गाउँपालिका ६ देउरालीस्थित हेटौंडा भीमफेदी कुलेखानी सडक खण्डमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।
चितवनमा ३० घरधूरी स्थानान्तरण
चितवन, भरतपुर महागरपालिका ३ बारघरे, सोही महानगरपालिका १६ गुम्बाचौर र झनझनेस्थित अविरल वर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेका ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधूरीलाई सुरक्षित स्थानतर्फ स्थान्नतरण गरेको छ ।
नवलपरासीमा १५० परिवारलाई सुरक्षित स्थानमा लगियो
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका २ बोटे टोलमा नारायणी नदीमा मंगलबार राति आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० परिवारलाईसुरक्षित स्थानतर्फ स्थान्तरण गरेको छ ।
लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध
लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका मुख्यसहित पहाडी सडकहरु अबरुद्ध भएका छन् । लुम्बिनी प्रदेशमा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहानदेखि नै अबरुद्ध छ भने सिद्धार्थ राजमार्ग मंगलबार रातिदेखि अवरुद्ध छ ।
बुटवल–नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अबरुद्ध पूर्वपश्चिम राजमार्ग आज बुधबार पनि खुल्न सकेको छैन ।
निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले बताउँछन् ।
यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूर्णरुपमा अवरुद्ध छ । यो खण्डको तिनाउ–५ कालिमाटी, तानसेन–८ को गौडापुल, जरेपिपल तथा तानसेन–१४ गाईघाटमा पहिरो गएको छ ।
गौडापुलमा पहिरोले ५० मिटर सडक भत्काइदिएको छ । जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फको यातायात सेवा सुरु हुन केही दिन लाग्ने डीएसपी पाण्डेले बताए ।
यस्तै तानसेन–रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यसैगरि रिडी–तम्घास र रिडी–वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका डीएसपी पाण्डेले बताए ।
पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा–४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध छ ।
यस्तै गोरुसिङ्गे–सन्धिखर्क सडकको फुदवाङ, प्युठान–भालुवाङ सडकको सरुमारानी–४ खहरेखोलामा पहिरो जांदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल–नेपालगन्ज राजमार्ग भने सुचारु रहेको उनले बताए । भारी वर्षा नरोकिएकाले यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
कोशी ब्यारेजको १२ ढोका खुलियो
मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।
उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’
सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।
बाजुरामा घरै बगायो
बाजुराको बुढीन्नदा नगरपालिका ४ बस्ने जयबिर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ । यीसहित जोखिममा रहेका १३ बटा घरका मानिसलाई सुरक्षित स्थानमा सरिसकेका छ ।
ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार तथा खोजी कार्य गरिरहेको छ ।
राप्ती नदीमा फसेका ४ जनाको सकुसल उद्धार
राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । अविरल वर्षापछि आएको बाढीमा लमही नगरपालिका–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका–२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षकै गणेश यादव फसेका थिए । राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा उनीहरु फसेका थिए ।
लमही–७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो ।
बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । मौसमविदका अनुसार अझैं केही दिन वर्षासंगै बाढी र पहिरोको जोखिम रहेकोछ ।
बाढीमा फसे उद्धारका लागि ११४९ मा फोन गर्नुहोस्
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन सम्पर्क नम्बर उपलब्ध गराएको छ । उद्धारका लागि मद्दत माग्न पनि नम्बर उपलब्ध गराइएको छ ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ । यस्तै, विपद्मा परेकाले उद्धारका लागि मद्दत माग ११४९ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।