नेपालगन्ज २ असार : अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।
विभिन्न जिल्लाबाट बुधबार बेलुकासम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा पनि सडक पनि अवरुद्ध भएका छन् ।
मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ । र, खोज, उद्दार तथा राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।
बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ ।
यसैबीच, पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय मदन भट्टराई छन् । घरमा मदनकी आमा पनि थिइन् । उनको सकुशल उद्दार भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार खोलाले बगाउँदा बूढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहारको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५, किम्नीमा १२ वर्षीय बालक पनि बेपत्ता छन् ।
पहिरोमा पुरिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पूजा कुँवर घाइते भएका छन् ।
मौसमविद्का अनुसार आगामी केही दिनसम्म देशभर निरन्तर वर्षा हुने बताएकाछन् । केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने र नदी तटिय क्षेत्रमा पानीको वहाव बढ्ने भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरिएकोछ ।