नेपालगन्ज ३ असार : तीन दिनदेखि परेको पानीका कारण आएको बाढीमा मेलम्ची आयोजनाका ८ कामदार अझै सम्पर्कविहीन रहेको पाइएकोछ ।
मेलम्ची खानेपानी विकास समितिले आयोजनाका ८ कामदार सम्पर्कविहीन भएको बुधबार जारी विज्ञप्तिमा उल्लेखछ । आयोजनाले ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदारसहित ८ जना सम्पर्कविहीन रहेको जनाएको हो ।
यस्तै आयोजनाका ७६ जनालाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।
उद्धार गरिएकाहरू सबैलाई काठमाडौं र धुलिखेल ल्याइएको छ । सम्पर्कमा आउन बाँकी रहेका कामदारहरूको खोजीमा सबै संयन्त्र परिचालन गरिएको उनले बताए । कामदारहरूको खोजी तथा उद्धारका लागि आयोजनाले सबैमा सहयोगका लागि अपील गरेको छ ।
आयोजनाको हेडवर्क्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गरिएको थियो ।
बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल बगाएको छ । प्राविधिक निरीक्षणका लागि आयोजनाको सुरूङ मंगलबार बिहान ११ बजेदेखि बन्द गरिएको थियो । सुरूङ समयमै बन्द गरिएकोले ठूलो दुर्घटनाबाट जोगिएको छ ।