नेपालगन्ज ५ असार : अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन बगाएको छ ।
बाढीले शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको हो । भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् ।
हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।
‘क’ वर्गको यो ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।
यस्तै बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय र विद्यालय भवन पनि बगाएको छ ।
असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको हो ।
भवनहरूमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको थियो ।
वडा नम्बर–४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ । बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ । यद्यपी थप मानवीय क्षति भने गरेको छैन ।