लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा मुकुन्दराज आचार्यको सरुवा


लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा मुकुन्दराज आचार्यको सरुवा

नेपालगन्ज ८ असार : गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरूवा निकालेको छ । सोमबार मन्त्रालयले सात वटै प्रदेशका डिआइजीहरूको सरूवा निकालेको हो ।

सरूवा सूचीअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यररत प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र बहादुर धानुकको नेपाल प्रहरी प्रधान कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय नक्साल काठमाण्डौंमा सरुवा भएकोछ ।

यस्तै धानुकको ठाउँमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौंमा कार्यरत मुकुन्दराज आचार्य सरुवा भएका छन् ।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ । उनी प्रदेश २ मा कार्यरत थिए ।

Kanti Aarogya Hospital Nepalgunj

ब्युरोमा कार्यरत सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ ।

प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ । उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थिए ।

उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ । रञ्जितकार हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका डिआइजी हुन् ।

यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेशमा लोहनीको सरूवा गर्न खोजेको थियो । तर, गृह मन्त्रालयले उनको सरूवा गण्डकी प्रदेशमा गरेको हो ।

विशेष ब्युरोमा कार्यरत प्रकाशजंग कार्कीको बागमती प्रदेशमा सरूवा भएको छ । गण्डकीका डिआइजी घनश्याम अर्यालको विशेष ब्युरोमा सरूवा भएको छ ।

गणेशबहादुर ऐरको कर्णाली प्रदेश, वसन्तकुमार पन्तको अख्तियार, प्रदेश १ का ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण र सुदूरपश्चिम प्रदेशमा कार्यरत उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ ।

हालका महानिरीक्षक थापापछि प्रहरी नेतृत्वमा पुग्ने दाबेदारमध्येबाट विश्वराज पोखरेल यसअघि नै एआइजी भइसकेका छन् ।

उनी भावी नेतृत्वका एकल दाबेदार हुन् । उनको ब्याचबाट नेतृत्व दाबी गर्नेहरू थापा, सिंह, सुवेदी, लोहनी, लामाहरू भने डिआइजी नै छन् ।