File Photo
महोत्तरी १४ असार : वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आईतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो ।
आईतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, मङ्गलबहादुर विश्वकर्मा, धनबहादुर खड्का, बिनामाया बस्नेत, प्रदीप खड्का र रेशमबहादुर खड्काको घर रातको समयमा जङ्गली हात्तीले भत्काएको हो ।
रातको समयमा हात्ती बस्ती पसेपछि भागाभाग भएको थियो । सर्वसाधारणले रातको समयमा भागेर ज्यान बचाएका थिए । यसअघि गत जेठ २३ गते जङ्गली हात्तीले गौशाला–१० कै विश्वकर्माचोकका तीनवटा घर भत्काएको थियो । त्यतिखेर तीनवटा हात्ती बस्ती पसेका थिए । पछिल्लो पटक भने एउटै हात्तीले सातवटा घर भत्काएको हो ।
सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको लगातार बस्तीमा प्रवेश बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ ।
महोत्तरी, सर्लाही र धनुषाको उत्तरीक्षेत्रका चुरे काछ नजिकका बस्तीमा बर्सेनि जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ । चितवन निकुञ्जबाट हात्ती यता आउने गरेको लख काटिन्छ । पछिल्ला चार÷पाँच वर्षयता महोत्तरीका चुरे नजिकका बस्तीमा हात्ती पस्दै आएका छन् ।
जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भब्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिकाका र गौशाला नगरपालिकाका वनक्षेत्र नजिकका बस्तीमा उत्पात मच्चाउँदै आएको छ । हात्तीले छिमेकको धनुषा जिल्लाको ढल्केवरमा पछिल्ला चार वर्षबीच दुई जनाको ज्यान लिइसकेको छ ।
आहाराको खोजीमा भौँतारिँदै हात्ती बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञ बताउँछन् । -रासस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु